अल्का अस्पतालले मधुमेह भएका बिरामीको नि:शुल्क स्वास्थ्य परीक्षण गरेको छ।
विश्व मधुमेह दिवसका अवसरमा ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पतालले अस्पताल परिसरमा नै मधुमेह भएका बिरामीहरूलाई नि:शुल्क स्वास्थ्य परीक्षण गरेको हो।
निःशुल्क स्वास्थ्य शिविरबाट तीन सयभन्दा बढी मधुमेहका बिरामीको परीक्षण र औषधि वितरण गरिएको अस्पतालका प्रशासन प्रमुख भगवान केसीले जानकारी दिए।
एचबिएवान सी, पिपी र फास्टिङ लगायतका ल्याव टेष्टमा पनि निःशुल्क परीक्षण गरिएको उनले जानकारी दिए।
मधुमेहका बिरामीहरुलाई मात्र लक्षित गरेको आयोजना गरिएको सो कार्यक्रममा चिकित्कसको सिफारिस अनुसार १० दिनसम्मका लागि पुग्ने औषधि पनि वितरण गरिएको उनले बताए।
निःशुल्क स्वास्थ्य परीक्षणमा सहभागी भएकाहरूलाई २ हप्तासम्म फलो अप गर्दा कुनै पनि शुल्क नलाग्ने अस्पतालले जनाएको छ।
त्यस्तै, अस्पतालले विश्व मधुमेह दिवसका अवसरमा बिहान जनचेतनामुलक र्याली पनि निकालेको थियो।
अस्पताल परिसरबाट सुरू भएको र्याली पुल्चोक, मंगलबजार, लगनखेल, कुमारीपाटी, जावलाखेल हुँदै अस्पताल प्राङ्गणमा पुगेर टुंगिएको थियो।