घरबेटी कन्ट्रयाक्ट, स्थानीय सरकारका नियमित सूचना, स्थानीय बजारसँगकाे पहुँच र घरमा देखा पर्ने समस्याकाे समाधान गर्ने उद्देश्यले सञ्चालनमा आएको स्किल सेवाले एप सार्वजनिक गरेको छ। कम्पनीले बेटा भर्सनमा एप सार्वजनिक गरेको हो। अर्थात् एप परिक्षण क्रममै छ।
कम्पनीका अनुसार अब एपमार्फत छोटो समयमै घरबेटी र डेरावालले मोबाइलबाटै सम्झौता पत्र बनाउन सक्नेछन्। साथै मासिक बहाल सम्बन्धि जानकारी जस्तै महिनावारी बहाल रकम, विद्युतीय खर्च, पानी, फोहोर संकलन जस्ता अन्य रकमहरू पनि डिजिटली एपमै राख्न सकिन्छ।
'सेवा एप कस्टमर' र 'सेवा एप प्रोभाइडर' गरी कम्पनीले दुईवटा एपको बेटा भर्सन सार्वजनिक गरेको हो। सेव एप कस्टमर घरबेटी लक्षित गरी बनाइएको एप हो भने सेवा एप प्रोभाइडर प्लम्बिंग ,इलेक्ट्रिसियन, पेन्टिङ जस्ता ३० भन्दा धेरै सेवाहरू दिने दक्ष जनशक्तिको लागि बनाइएको एप हो।
स्किल एपमा स्थानीय क्षेत्रमा रहेको पसलहरूले आफ्नो पसलमा राखिएको सामान, त्यसको मूल्य उल्लेख गरी व्यापारलाई अझै प्रबर्धन गर्ने मौका पाउनेमा कम्पनी सकारात्मक छ। यो सेवा पूर्ण रुपमा नि:शुल्क गरिएको छ। एपबाट जो-कोहीले सामान किनबेच गर्न पाउने छन्।
यो एपले पछिल्लो समय राजधानीमा 'रुम फाइन्डर'को नाममा भइरहेको बिचौलियातन्त्रलाई समेत अन्त्य गर्ने कम्पनीको दाबी छ। घरबेटीले आफ्नो घरमा कोठा खाली भए-नभएको जानकारी समेत एपमा सजिलैसँग अपडेट गर्न पाउने छन्।