भारतको केन्द्रीय बैंकले करिब एक महिना अघि पाइलट प्रोजेक्टको रूपमा होलसेल कारोबारमा प्रचलनमा ल्याएको डिजिटल मुद्रा भोलिदेखि सर्वसाधारणले पनि प्रयोग गर्न सक्ने भएका छन्।
अब त्यहाँका सर्वसाधारणले पनि डिजिटल वालेटहरूको माध्यमबाट कुनै व्यक्ति वा सेवा प्रदायकहरूलाई डिजिटल मुद्राबाट भुक्तानी गर्न सक्नेछन्।
सेवा प्रदायकहरूलाई सर्वसाधारणले क्युआर कोडमार्फत् समेत भुक्तानी गर्न सक्नेछन्।
केन्द्रीय बैंकले आठ बैंकहरूलाई यसको लागि छनोट गरेका छन्।
यो प्रोजेक्टको लागि पहिलो चरणमा स्टेट बैंक अफ इण्डिया, आइसीआइसीआई बैंक, यस बैंक, आइडीएफसी फ्रस्ट बैंकलाई छानिएको छ। दोस्रो चरणमा बैंक अफ बरोडा, युनियन बैंक अफ इण्डिया, एचडीएफसी बैंक र कोटाक महेन्द्रा बैंक जोडिनेछन्।
नेपालमा राष्ट्र बैंकले केही अघि सार्वजनिक गरेको अध्ययनले यहाँ डिजिटल मुद्रा प्रचलनमा ल्याउन अलग्गै संरचना आवश्यक भएको र थप अध्ययन आवश्यक भएको उल्लेख गरेको थियो।