तुलसीपुर उद्योग वाणिज्य संघको विरोधपछि आजदेखि मंसिर २६ गतेसम्म सञ्चालन हुने भनिएको मेला स्थगित भएको छ।
तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा स्थानीय प्रहरी प्रशासन, तुलसीपुरका मेयर, मेलाको विरोध गर्ने पक्ष र मेला लगाउने पक्षका बीचमा छलफलपछि मेला स्थगित गर्ने निर्णय भएको हो।
संयुक्त छलफलपछि तुलसीपुरका मेयर टीकाराम खड्काले मेला स्थगित गर्ने निर्णय सार्वजनिक गरेका थिए।
छलफलपछि जारी संयुक्त वक्तव्यमा युथ्स अफ तुलसीपुरले पुनः मेला लगाउन चाहेमा व्यापारिक स्टलहरूको लिष्ट उद्योग वाणिज्य संघ र च्याम्बर अफ कमर्सले तोकेबमोजिम हुने कुरा उल्लेख छ।
त्यस्तै, मेला/महोत्सवबारे तुलसीपुर उपमहानगरपालिकाले कार्यविधि बनाई लागू गर्ने निर्णय पनि भएको छ।
कार्यविधि स्वीकृत भई लागू नभएसम्म कुनै पनि व्यक्ति, संघसंस्था आदिबाट कुनै पनि मेला महोत्सव सञ्चालन नगर्ने सहमति भएको छ।
तुलसीपुर वाणिज्य संघको नेतृत्वमा विरोध भएपछि आजदेखि युथ्स अफ तुलसीपुरले तुलसीपुर–६ हात्तीखौवामा मेला लगाउने अन्तिम तयारी गरिरहेको भए पनि त्यो स्थगित भएको छ।
वाणिज्य संघले मेला रोक्नुपर्ने माग गर्दै बुधबारदेखि तुलसीपुर बजार बन्द गराउँदै आएको थियो।
वाणिज्य संघका पदाधिकारीले आज तुलसीपुर उपमहानगरपालिकाको मूल गेटमा समेत तालाबन्दी गरेर कामकाज ठप्प पारिदिएका थिए।
त्यसपछि प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वली लगायत आएपछि मध्यान्ह १२ बजेतिर उपमहानगरपालिकामा लगाइएको ताला खोलेर वार्ता सुरू भएको थियो। झन्डै साढे तीन घन्टा लामो छलफलपछि मेला रोक्ने सहमति भएको थियो।
स्थानीयको पैसा बाहिर जाने गरी गर्न लागिएको मेला रोकिनु व्यापारीको पक्षमा भएको सुखद फैसला मान्नुपर्ने तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव विनिल केसीले बताए।
मेला रोकिनुलाई व्यवसायीको जीत मान्नुपर्ने वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले बताए।
उनले व्यक्तिगत लाभका लागि मेला लगाउँदा व्यवसायीलाई ठूलो मर्का पर्ने हुँदा मेला स्थगित हुनुलाई सकारात्मक मान्नुपर्ने बताए।
क्लबले लगाउन खोजेको मेलामा अधिकांश मनोरञ्जनका सामान ट्रकका ट्रक भारतबाट ल्याइएका थिए। स्थानीयको पैसा सबै बाहिर जाने हुँदा यस्ता मेला रोकेर कृषि उपजसम्बन्धी मेला लगाउन आवश्यक रहेको अध्यक्ष चालिसेले बताए।
मेला कुनै व्यक्तिले ठेक्कामा लिएको र व्यक्तिगत लाभका लागि सबै व्यापार व्यवसायी धरासायी पार्नु गलत भएको अध्यक्ष चालिसेले बताए।