मिडिया र मनोरञ्जन क्षेत्रको विषयमा दुई दिने छलफल तथा अन्तरक्रियात्कम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
एसबि सर्भिसेस, मिडिया इन्टरटेरिमेन्ट स्किल काउन्सिल र पूर्वाञ्चल विश्व विद्यालयले बिहिबार र शुक्रबार राजधानी काठमाडौंको होटल एभरेष्टमा आयोजना गरेको 'राउण्ड टेवल डिस्कसन अन एकेडेमिया इन्डस्ट्री एलायन्स इन मिडिया एण्ड इन्टरटेनिमेन्ट सेक्टर' कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो ।
कार्यक्रममा विभिन्न विज्ञहरूले नेपालको मिडिया र चलचित्र क्षेत्रको विकासका लागि गर्नुपर्ने कामहरूको बारेमा चर्चा गरेका थिए।
कार्यक्रमको समापन गर्दै बलिउड डाइरेक्टर पद्यश्री रमेश सिप्पीले कार्यक्रम निकै फलदायी भएको आफूले अनुभव गरेको बताए।
'नेपाल र भारत समान धर्म संस्कृती भएको देश हो। हामी दुवै देशका भावना तथा कथालाई समेट्ने गरी काम गर्न सक्छौं। म यो पटक नेपाल आउँदा जती सोचेको थिए त्यो भन्दा उपलब्धी भएको महसुस गरेको छु,' उनले भने।
नेपाल र भारत दुवै संस्कृतिक रुपमा धनी भएकाले दुवै देशले मिलेर अघि बढ्न सकेमा मिडिया र इन्टटेनिमेन्ट क्षेत्रमा धेरै अघि बढ्न सकिने मिडिया एण्ड इन्टरटेनिमेन्ट स्किल काउन्सिल सिइओ मोहित सोनीले बताए।
उनले यसको लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्न तयार भएको समेत स्पष्ट पारे।
शैक्षिक क्षेत्रबाट सञ्चार र मनोरञ्ज क्षेत्रमा धेरै प्रगती गर्न सकिने त्रिभुवन विश्वविद्यालयका इनोभेसन आइटी सेन्टरका निर्देशक सुवर्ण शाक्यले बताए ।
'दक्ष जनशक्ती उत्पादन गर्न नेपालका विश्वविद्यालयसँग सहकार्य गर्न पनि सकिन्छ। यो क्षेत्रका सबै विज्ञ तथा उद्योगीहरूलाई विश्वविद्यालयहरूमा इन्क्युबेशन सेन्टरहरू स्थापना गर्न म हरसम्भव प्रयास गर्छु। यसका लागि हामीलाई पिपिपी मोडल राम्रो हुन्छ,' शाक्यले भने।
आफूहरूले विद्यार्थी, कलेज, अनुसन्धानकर्ता र उद्योगहरूलाई प्रविधिमा जोड्न चाहेको आइएमएसके डट नेटका संस्थापक जय नरेशले बताए।
'महत्वपूर्ण सम्भावनाहरुका कारण आज सबैले मेटावर्सको बारेमा कुरा गरिरहेका छन्। यो ट्रिलियन डलरको उद्योग हो। मेटाभर्समा काम गरेका साना कम्पनीहरूको पनि बिलियन डलरको मूल्य छ,' उनले भने।
आफूहरूले नेपालका स्टुडियोबाट आउटसोर्सिङ गर्न चाहेको र नेपालका स्टुडियोहरूसँग सहकार्य गर्न पाउँदा धेरै खुसी लाग्ने टुल्ज एनिमेसन इन्डिया प्रालीका कार्यकारी निर्देशक शशी कुमारले बताए।
'हामी हरेक वर्ष ६ देखि ८ हजार मिनेटको कन्टेन्ट विकास गरिरहेका छौँ। यसका हामी नेपालसँगै अघि बढ्न सक्छौं,' उनले भने।
पछिल्लो समय नेपालमा एनिमेसन र भिएफएक्सको प्रयोग धेरै बढिरहेकाले अवसरहरू पनि धेरै रहेको सह–संस्थापक हाइब्रिड ३६० आर्ट टेक प्रालिका निर्देशक जि बालचन्द्र बताउँछन्।
'हामीले यीकाम नेपालबाट आउट सोर्सिङ गर्न सक्छौँ। त्यसबाट नेपालमा राम्रो वैदेशिक लगानी भित्राउन सकिन्छ। यहाँ युवाहरुको संख्या ४० प्रतिशत (१६देखि ३५ वर्ष) र यहाँको साक्षरता दर ६७ प्रतिशत भन्दा धेरै भएकाले नेपालमा यसको सम्भावना धेरै छ। यो क्षेत्रमा अघि बढ्न विद्यार्थीहरूको लागि सही तालिम र सीपहरू प्रदान गर्नु पर्छ,' उनले भने ।
भारत पहिले नै एआर र भिआरको हब बनिसकेको र नेपालमा पनि यसको प्रचुर सम्भावना भएको प्रिसाइजका सिइओ सरथ कुमारले बताए।
नेपालको फिल्मी क्षेत्र विकासका लागि यो छलफल निकै महत्वपूर्ण सावित हुने चलचित्र निर्माता तथा नेपाल उद्योग वाणिज्य महासघंका सदस्य आकाश अधिकारीले बताए।
एआर भिआरले नेपालको पर्यटन क्षेत्रमा धेरै परिर्वतन ल्याउन सक्ने नेपाल उद्योग वाणिज्य महासघं सदस्य ज्योत्सना श्रेष्ठले बताइन्।
'हामीले यसको मद्धतले संसारभरीका मान्छेलाई हाम्रो पर्यटकिय क्षेत्रको बारेमा जानकारी दिन सक्छौं। नेपालको पर्यटन क्षेत्रमा अझै पनि धेरै कुरा खोज्न बाँकी छ,' उनले भनिन्।
त्यस्तै कार्यक्रमको पहिलो दिन पनि विभिन्न वक्ताहरुले आफ्नो विचार राखेका थिए।