गलकोट नगरपालिका–५ हरिचौरबाट बडिगाड, निसीखोला गाउँपालिका हुँदै प्युठान जोड्ने निर्वाचन क्षेत्र रणनीतिक सडक आयोजनाको काम सुरूआत भएको छ।
शनिबार गलकोट–७ मल्ममा सडक स्तरोन्नतिको वडाध्यक्ष राजबहादुर थापाले सुरू गरे।
सो अवसरमा उनले गलकोटमात्रै नभएर सिङ्गै पश्चिम बागलुङको विकासमा उक्त सडक मेरूदण्डका रूपमा रहने बताए।
सडक विभागले रु ३० करोड ४३ लाखको ठेक्कामार्फत् आयोजनाको काम अगाडि बढाएको हो।
निर्माण कम्पनी लोपूर्ण कन्स्ट्रक्सन प्रालिका प्रबन्धक अमिन लामाले उक्त बजेटबाट आठ किमी सडक कालोपत्र गरिने बताए।
सुरूको चरणमा मल्म र हरिचौरबाट गरी दुई खण्डमा कालोपत्रका लागि पूर्वाधार तयारीको काम गरिने उनको भनाइ छ।
'कुनै अवरोध नभएमा ३० महिनाभित्रैमा काम सक्ने हाम्रो लक्ष्य छ', प्रबन्धक लामाले भने, 'एघार किमीमा सडक कटिङ हुन्छ, आठ किमी जति कालोपत्र हुन्छ।'