विराटनगरमा मंसिर २९ देखि पुस ६ गतेसम्म विराट एक्स्पोको सातौं संस्करण आयोजना हुने भएको छ।
एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।
विराटनगर–१४ स्थित स्नात्तकोत्तर क्याम्पसमा हुने औद्योगिक व्यापार मेला ७ दिनसम्म चल्ने एक्स्पोमा विभिन्न स्वदेशी तथा विदेशी उत्पादन सहितका ३६१ वटा स्टलहरू रहने छन्।
पेभिलियनको ४, प्रायोजकको १०, उद्योग संगठन मोरङ कार्यसमितिको ३४, औद्योगिक कन्जुमन प्रोडक्ट्सको ७५, कृषि तथा साना घरेलु एवं सूचनामुलकको ७५, नाडा र अटोमोबाइल्सको २० वटा र खाद्य सामग्रीको १० वटा स्टलहरू एक्स्पोमा रहने उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले बताए।
उनले एक्स्पो अवधिभर माउन्टेन फ्लाइटको समेत व्यवस्था गरिएको जानकारी दिए।
‘एक्स्पो अवधिभर ३ वटा माउन्टेन फ्लाइट गर्ने तयारी छ,’ उनले भने, ‘हामीले बुकिङ पनि खुलाइसकेका छौं।’
एक्स्पोमा आर्थिक एवम् कृषि तथा औद्योगिक क्षेत्रका विषयगत मुद्दाहरूमा नीतिगत छलफल, अनुभव आदानप्रदान र नवीतम सोच भएका युवा उद्यमीको स्टार्टअप कर्नरका लागि छुट्टै पेभिलियनको व्यवस्था गरिएको आयोजकको भनाइ छ।
प्रदेश १ मा लगानी सम्भावना भएका क्षेत्रका निम्ति पनि छुट्टै पेभिलियनको व्यवस्थापन मिलाइएको छ।
एक्स्पोमा पहिलोपटक रोबर्टसँग प्रत्यक्ष संवाद गर्ने अवसर समेत प्राप्त हुने आयोजकको दाबी छ।
आयोजकका अनुसार एक्पोमा थ्रिडी भर्चुअल टुर मार्फत् प्रदेश १ का सगरमाथा बेस क्याम्प, गुफा पोखरी र पाथीभरा मन्दिर लगायतका पर्यटकीय क्षेत्रको अवलोकन समेत गर्न सकिनेछ।