स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) ले विद्युत प्राधिकरणले विभिन्न ११ जलविद्युत अयोजनाहरूको विद्युत जडित क्षमताअनुसार खरिद नगरिदिँदा व्यवसायीहरूले नोक्सानी बेहोर्नु परेको बताएको छ।
स्वतन्त्र ऊर्जा उत्पादनकहरूले सञ्चालन गरेका विभिन्न ११ वटा जलविद्युत आयोजनाको विद्युत जडित क्षमताअनुसार खरिद नगरिदिँदा नोक्सानी बेहोर्नु परेको हो।
यी जलविद्युत कम्पनीहरू चेपे खोला, दोर्दी खोला, तल्लो मोदी, घलेम्दी खोला, युनाइटेड इदी मार्दी, न्यादी जलविद्युत, छ्याङ्दी जलविद्युत, बुद्धभूमी जलविद्युत, नौगर्घगड, अप्पर स्याङगे र सिनर्जी पावर हुन्।
यी जलविद्युत आयोजनाको बिजुली प्राधिकरणले नकिन्दा व्यवसायीहरूले प्रत्येक वर्ष ९२ करोड ८५ लाख ८४ हजार भन्दा बढी रुपैयाँको नोक्सान बेहोर्नु परेको उल्लेख छ।
इप्पानका अनुसार चेपेखोला जलविद्युत आयोजनाको कुल क्षमता ९५ लाख, २७ हजार ५२० किलोवाट आवर छ। जसमध्ये २६ लाख ६२ हजार ९४० किलोवाट आवर बिजुली मात्रै बिक्री भएको छ।
यो आयोजनाबाट मात्रै गत असोज र कात्तिक महिनामा तीन करोड रुपैयाँभन्दा बढीको ६८ लाख ६४ हजार ५८० किलोवाट आवर विद्युत नोक्सान भएको उल्लेख छ।
तल्लो मोदीमा जडित क्षमताअनुसार ८ करोड ९७ लाख ७० हजार २७१ किलोवाट आवर बिजुली बिक्री हुनुपर्नेमा तीन करोड ६९ लाख ८८ हजार चार सय किलोवाट आवर बिजुली मात्रै बिक्री भएको छ।
यो आयोजनामा गत वैशाखदेखि कात्तिकसम्म २५ करोड ४९ लाखभन्दा बढी नोक्सान भएको इप्पानले जनाएको छ।
गत असोज र कात्तिक महिनामा दोर्दी खोला आयोजनामा जडित क्षमताअनुसार विद्युत बिक्री नहुँदा चार करोड दुई लाख ६८ हजारभन्दा बढी रुपैयाँको ८३ लाख ८९ हजार ३६८ किलोवाट आवर विद्युत नोक्सान भएको इप्पानको भनाइ छ।
घलेम्दी खोला आयोजनामा गत वैशाखदेखि मंसिरसम्ममा विद्युत बिक्री नहुँदा एक करोड ६७ लाख, ७१ बढी नोक्सान देखिएको छ। न्यादी जलविद्युतमा गत वैशाखदेखि कात्तिकसम्ममा ३५ करोड पाँच लाख ४७ हजार बढी नोक्सान भएको उल्लेख छ।
साउनदेखि कात्तिकसम्ममा युनाइडेट इदी मार्दी आयोजनामा दुई करोड ३१ लाख ७१ हजार बढी नोक्सान भएको छ।
छ्याङ्दी आयोजनामामा ६ करोड ५९ लाख ७० हजार ७८१ रुपैयाँको नोक्सान भएको छ। त्यस्तै, बुद्धभूमि आयोजनाबाट गत चैत्रदेखि कात्तिकसम्म दुई करोड ४८ लाख २९ हजारभन्दा बढी नोक्सान भएको छ।
अप्पर स्याङगेमा गत वैशाखदेखि कात्तिकसम्म चार करोड १८ लाख ६७ हजार ६८८ रुपैयाँ र सिनर्जी पावर आयोजनामा गत असारदेखि कात्तिकसम्म तीन करोड २२ लाख ६९ हजार बढी नोक्सान भएको हो। नौगर्घगड आयोजनाबाट साउनदेखि हालसम्म पनि जडित क्षमताअनुसार विद्युत बिक्री नहुँदा चार करोड ५० लाख रुपैयाँको नोक्सान भएको छ।
वर्षातको समयमा धेरै विद्युत नोक्सान भइरहेको इप्पानका एक अधिकारीले बताए।
'नाफा धेरै देखाउन हो वा किन हो। प्राधिकरणले हामीसँग उत्पादित बिजुली किनिरहेको छैन। यसले गर्दा आयोजनाहरू धरासायी बनिरहेका छन्,' उनले सेतोपाटीसँग भने।
नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराई भने आयोजनाहरूको विद्युत् खरिद सम्झौता –पिपिए)मा उल्लेख भएअनुसारकै प्रसारण लाइनमा विद्युत नजोडिँदा यस्तो समस्या निम्तिएको बताउँछन्।
'पिपिएमा एउटा प्रसारणलाइनमा जोड्ने भनिएको हुन्छ। तर अर्कै ठाउँमा लगेर जोडिन्छ। यसले गर्दा पनि समस्या देखिएको हो,' उनले भने।
यस्तो समस्या समाधानका लागि पिपिएमा जहाँ जोड्ने उल्लेख छ। त्यहिँ जोड्नुपर्ने उनले बताए।
तर उत्पादकहरूले अहिले आयोजनाहरूले बिजुली जोड्ने भनेर सम्झौतामा उल्लेख भएका कतिपय ठाउँमा प्रसारण लाइन नै नभएको बताएका छन्। सम्झौतामा उल्लेख भएका कतिपय प्रसारण लाइन आयोजनाको क्षमताअनुसार नहुँदा अस्थायी रुपमा सम्झौताभन्दा फरक ठाउँमा बिजुली जोड्नु परेको उनीहरूको गुनासो छ।
'भनेको ठाउँमै जोड्नलाई प्राधिकरणले प्रसारण लाइन बनाइ दिनुपर्यो नि,' एक व्यवसायिले भने।