नेपाल विद्युत प्राधिकरणले बाँकेको नेपालगञ्ज तथा कोहलपुर क्षेत्रको विद्युत आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन प्रसारण तथा वितरण प्रणालीका पूर्वाधारहरूको सञ्जाल निर्माण गर्ने भएको छ।
प्राधिकरणले नेपालगञ्ज तथा कोहलपुर र त्यस आसपासका क्षेत्रहरुमा सन् २०५० सम्म वृद्धि हुन सक्ने विद्युतको सम्भावित माग प्रक्षेपण गरी उक्त मागलाई धान्ने गरी भरपर्दो र विश्वसनीय विद्युतीय भार बहन गर्ने उच्चस्तरका प्रसारण तथा वितरण लाइनतर्फका पूर्वाधार संरचना चरणबद्ध रूपमा बनाउने बताएको छ।
नेपालगञ्ज तथा कोहलपुर र त्यस आसपासका क्षेत्रहरूमा भइरहेको सहरीकरण तथा औद्योगीकरणका आधारमा सन् २०५० भित्रमा त्यस क्षेत्रको विद्युत भाग करिब ८ सय मेगावाट पुग्ने प्रक्षेपण गरिएको छ।
देशभित्र उत्पादित विद्युत आन्तरिक रुपमै खपत बढाउन र पर्याप्त, भरपर्दो तथा गुणस्तरीय विद्युत आपूर्तिका लागि नेपालगञ्ज क्षेत्रमा प्रसारण तथा वितरण प्रणालीको सञ्जाल विस्तार र सुदृढीकरण गर्न लागिएको प्राधिकरणको भनाई छ।
विद्युत आपूर्तिको तत्कालको समस्या समाधान गर्न हाल सञ्चालनमा रहेका प्रसारण र वितरण प्रणालीका संरचनाहरुको सुदृढीकरण/स्तरोन्नति र विस्तार गरिने उल्लेख छ।
दीर्घकालीन मागलाई सम्बोधन गर्न र विद्युत खपत बढाउन ४००, २२० र १३२ केभीका उच्च क्षमताका प्रसारण लाइन र सबस्टेसनहरूको निर्माण गरिने प्राधिकरणले बताएको छ।
कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वमा प्राधिकरणको उच्चस्तरीय टोलीले शनिबार र आइतबार नेपालगञ्ज क्षेत्रको स्थलगत अनुगमन भ्रमण गरेको छ।
भ्रमणबाट टोलीले विद्यमान प्रसारण र वितरण लाइन तथा सबस्टेसनहरुको स्तरोन्नति÷सुदृढीकरणका लागि तत्काल गर्नु पर्ने कामका बारेमा जानकारी पनि लिएको छ।
परामर्शदातासमेत सम्मिलित टोलीले भविष्यको विद्युत मागलाई सम्बोधन गर्न बनाउनु पर्ने नयाँ लाइन तथा सबस्टेसनहरू निर्माणस्थल, रूटको पहिचानलगायतका विषयमा स्थलगत रुपमा अनुगमन गरेको थियो। प्राधिकरणले अब यहि आधारमा तत्काल र दीर्घकालीन रुपमा गर्नु पर्ने योजना तयार गरी सोही आधारमा प्रसारण र वितरण लाइन र सबस्टेसनहरुको निर्माण अगाडि बढाउने छ।
कार्यकारी निर्देशक घिसिङले उपभोक्ताहरुले बेहोर्दे आएको तत्कालको समस्या समाधान गर्न ११ तथा ३३ केभी लाइन तथा सबस्टेसनको सदृढीकरण र विस्तार गरिने बताए।
३३ र ११ केभी लाइन सुधारका लागि आवश्यक काम भइरहेको कार्यकारी निर्देशक घिसिङले प्रष्ट पारे।
हाल चालू रहेका प्रसारण तथा वितरण प्रणालीले गर्मी याममा नधान्दा नेपालगञ्ज क्षेत्रमा न्यून भोल्टेज, ट्रिपिङ, भोल्टेज डाउनलगायतका समस्या उपभोक्ताहरुले बेहोर्दै आएका छन्।