तुलसीपुरमा जारी लुम्बिनी प्रदेशस्तरीय प्रथम कृषि तथा पर्यटन मेलामा चार सामग्री नराख्ने सहमति भएको छ।
तुलसीपुर उपमहानगरपालिकामा मेयर टीकाराम खड्का, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वली, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे र मेला आयोजक युथ्स अफ तुलसीपुर क्लबका अध्यक्ष अरूण लहरेका बीचमा सोमबार दिउँसो उक्त सहमति भएको हो।
सहमतिपछि मेयर खड्काले फेन्सी, कस्मेटिक, जुत्ता चप्पल र इलेक्ट्रोनिकसम्बन्धी सामग्री मेलामा राख्न नपाइने सहमति भएको जानकारी दिए।
मेलामा राखिएका ती सामग्री आयोजकले सोमबारदेखि नै हटाउने सहमति भएको छ।
यदि ती सामग्री नहटाए स्थानीय प्रशासनले हटाउने सहमति पनि भएको छ।
मेलाका सामग्री राखिएकोबारे अनुगमन गर्न स्थानीय जनप्रतिनिधि, वाणिज्य संघ, स्थानीय प्रहरी प्रशासन सम्मेलित एक समिति पनि गठन गरिएको छ।
व्यवसायीले ती सामग्री मेलामा राख्दा मुख्य सिजनको समयमा आफ्नो व्यापार धरासायी हुने भन्दै विरोध गर्दै आएका थिए।
मंसिर १५ गते भएको सहमतिविपरीत आयोजकले मनपरी स्टल राख्ने तथा सामग्री राखेको भन्दै वाणिज्य संघको नेतृत्वमा तुलसीपुरमा विरोध प्रदर्शन, धर्ना र चक्का जाम जस्ता कार्यक्रम व्यवसायीले गर्दै आएका थिए।
उनीहरूले मंसिर १५ का साथै मंसिर २५ गते फेरि उपमहानगरपालिकाको प्रमुख प्रवेशद्वारमा तालाबन्दी गरेका थिए।
उपमहानगरपालिका प्रवेश गर्ने गेटमा टेन्ट टाँगेर, कालो झन्डा राखेर धर्ना बस्दै आएका थिए। प्रवेशद्वारको गेटमा मेयर हराएको सूचना लेखेका थिए।
जसले गर्दा सोमबार बिहान कार्यालय समयमा झडपको स्थिति उत्पन्न भएको थियो।
प्रमुख जिल्ला अधिकारी रेग्मीको रोहबरमा सरोकारवाला पक्षबीच वार्ता भएको थियो।
यसअघि भएको सहमति कार्यान्वयन नभएको हुँदा सोमबारको सहमति अक्षरश: कार्यान्वयन हुनेमा कतिपय व्यवसायीले संशय व्यक्त गरेका छन्।