विराट एक्स्पोको सातौं संस्करण विराटनगरमा आजदेखि सुरू हुँदैछ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो उद्घाटन गरेर औपचारिक रूपमा सुरू हुने एक्स्पो एक सातासम्म चल्नेछ।
विराटनगर–१४ स्थित स्नात्तकोत्तर क्याम्पसको प्रांगणमा आयोजना हुने एक्स्पोले विराटनगरको आर्थिक गतिविधिलाई टेवा दिने विश्वास आयोजक उद्योग संगठन मोरङको छ।
उद्योग संगठनका अनुसार एक्स्पोमा ३६१ स्टल रहनेछन्।
प्रायोजकका १०, उद्योग संगठन मोरङ कार्यसमिति परिसरको ३४, औद्योगिक कन्जुमन प्रोडक्टका ७५, कृषि तथा साना घरेलु एवं सूचनामूलक परिसरका ७५, नाडा र अटोमोबाइल परिसरको २० वटा र खाद्य परिसरको १० वटा स्टलहरू रहेको आयोजकले जनाएको छ।
उद्योग संगठनले एक्स्पो अवधिभर माउन्टेन फ्लाइटको व्यवस्था पनि गरेको छ।
आर्थिक एवं औद्योगिक विकासको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउने उद्देश्यका साथ उद्योग संगठन मोरङले ‘विराट एक्स्पो २०७९ कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी’ आयोजना गरेको हो।