कोभिडका कारण उद्योग व्यवसाय थलिँदै गएको पीडाका बीच रूपन्देहीका उद्योगी व्यवसायीहरू औद्योगिक प्रदर्शनीको तयारीमा जुटेका छन्।
संघीय राजधानी काठमाडौंमा मात्र हुँदै आएको औद्योगिक प्रदर्शनीलाई रूपन्देहीले उद्योग संघले २०४५ सालमा पहिलो पटक काठमाडौंबाहिर बुटवलमा औद्योगिक प्रदर्शनीको आयोजना गरेको थियो।
त्यसयता रूपन्देही उद्योग संघसँगै बुटवल उद्योग वाणिज्य संघ र रूपन्देही व्यापार संघले हरेक वर्ष आलोपालो रूपमा औद्योगिक प्रदर्शनी तथा व्यापार मेला आयोजना गर्दै आएका छन्।
विगतका दुई वर्ष कोभिड महामारीका कारण मानिसको स्वास्थ्यसँगै उद्योग व्यवसाय पनि थलिएका कारण औद्योगिक प्रदर्शनी आयोजना हुन सकेनन्।
यसपटक भने रूपन्देही उद्योग संघले १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव आयोजना गर्दैछ।
नेपाल उद्योग परिसंघ र लुम्बिनी प्रदेश उद्योग परिसंघसँगको संयुक्त आयोजनामा ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने नाराका साथ पुस ७ गतेदेखि १९ गतेसम्म प्रदर्शनी हुँदैछ।
प्रदर्शनीको अहिले धमाधम तयारी भइरहेको छ।
कोभिडपछिको पहिलो प्रदर्शनी भएकोले मात्र होइन, बुटवल मण्डपमा निर्माणाधीन अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा पहिलो पटक हुन गइरहेकोले यसपटकको प्रदर्शनीलाई उद्योगी व्यवसायीहरूले विशेष महत्वका साथ लिइरहेका छन्।
उद्योगीहरूको हकहित संरक्षण र संवर्द्धन गर्दै देशको औद्योगिक विकासमा टेवा पुर्याउने उद्देश्यसहित झण्डै ३५ वर्षदेखि औद्योगिक प्रदर्शनी र मेला महोत्सव गर्दै आएका बुटवलका उद्योगीहरूले लामो समयदेखि स्थायी प्रदर्शनीस्थलको माग गर्दै आएका थिए।
सुरूका वर्ष हाल लुम्बिनी बस टर्मिनल रहेको स्थानबाट प्रदर्शनी तथा मेला महोत्सव आयोजना गर्दै आएका उद्योगी व्यवसायीले त्यसयता सडक विभाग परिसर र बुटवल मण्डपमा अस्थायी संरचना निर्माण गरी प्रदर्शनी आयोजना गर्न बाध्य थिए।
प्रदर्शनीको लागि अस्थायी रूपमै भए पनि प्रवेशद्वार, स्टल, मञ्च लगायतका संरचना निर्माणमै बर्सेनि ५० लाखभन्दा बढी रकम खर्च हुन्थ्यो।
यसपटक भने प्रदर्शनी केन्द्रको निर्माणको सम्पूर्ण काम पूरा भइनसके पनि निर्माणाधीन स्थायी प्रदर्शनी केन्द्रमै प्रदर्शनी आयोजना गरिँदै छ।
बुटवल मण्डपमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको पश्चिमतर्फ एक अर्ब दुई करोडको लागतमा प्रदर्शनी केन्द्रको निर्माण कार्य भइरहेको छ।
६ दशमलव ४ बिघा क्षेत्रफलमा सहरी विकास मन्त्रालयमार्फत् निर्माणाधीन प्रदर्शनी केन्द्र सरकारीस्तरको नेपालको सबभन्दा ठूलो प्रदर्शनी केन्द्र रहेको दाबी गरिएको छ।
यहाँ एउटा ठूलो प्रदर्शनी हल निर्माण भइरहेको छ भने दुइटा बैठक हल, प्रशासनिक भवन र खाजा घरको निर्माण कार्य जारी छ।
१२ हजार स्क्वायर मिटरमा निर्माण हुने ठूलो प्रदर्शनी हलमा चार स्क्वायर मिटरका साढे तीन सय स्टल सहभागी हुन सक्ने छन्। त्यही हलमा यसपटक प्रदर्शनी आयोजना गरिँदै छ।
बैठक हल भने एउटा साढे तीन सय स्क्वायर मिटर र अर्को साढे दुई सय मिटर स्क्वायर मिटरका निर्माण भइरहेका छन्। सबै हलको निर्माण कार्य सम्पन्न हुँदा झण्डै साढे ८ सय स्टल सहभागी हुन सक्ने छन्।
बाहिरबाट हेर्दा तीन वटा भवन देखिने गरी डिजाइन गरिएको प्रदर्शनी केन्द्रमा आवश्यकता अनुसार अलग/अलग गर्न मिल्ने गरी डिजाइन गरिएको छ। जहाँ एकैपटक १० हजार जनाले अवलोकन गर्न सक्ने छन्।
त्यस्तै, २० हजार अटाउन सक्ने हल, दुई हजार जनाले एकैपटक खाजा खाना सक्ने गरी फुड कोर्ट पनि निर्माण भइरहेका छन्।बुटवल मण्डपको लागि जग्गा छुट्टाएपछि कम्पाउण्ड वाल निर्माण गर्दा नै बुटवल उपमहानगरपालिकासँगै रूपन्देही उद्योग संघ, बुटवल उद्योग वाणिज्य संघ र रूपन्देही व्यापार संघले ५/५ लाख रुपैयाँ लगानी गरेका थिए।
ढिलै भए पनि स्थायी प्रदर्शनी केन्द्रको निर्माण कार्य अन्तिम चरणमा पुगेको र पहिलो पटक स्थायी प्रदर्शनी केन्द्रमा प्रदर्शनी आयोजना गर्न पाउँदा उद्योगी व्यवसायीले खुसी व्यक्त गरेका छन्।
प्रदर्शनी आयोजक रूपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेल नयाँ संरचनामा प्रदर्शनी आयोजना गर्न लागिएकोले विगतका प्रदर्शनीभन्दा यसपटक पृथक हुने बताउँछन्।
निर्माणाधीन अवस्थामै रहेको संरचनामा प्रदर्शनी आयोजना गर्दा केही चुनौतीको सामना गर्नुपरे पनि खुला आकाशमुनि टेन्ट टाँगेर प्रदर्शनी गर्नुपर्ने बाध्यता हटेको उनले बताए।
अवलोकन कर्ताहरूलाई सहज होस् भनी छुट्टाछुट्टै उत्पादन र वस्तुको प्रदर्शन तथा बिक्रीका लागि अलग अलग पेभिलियनको व्यवस्था गरिँदै छ।
संघका वरिष्ठ उपाध्यक्ष कृष्ण पराजुलीका अनुसार १० वटा पेभिलियनमा करिब ४ सय स्टल रहने गरी तयारी गरिएको छ। प्रदर्शनीका लागि अधिकांश स्टल दर्ता भइसकेको पराजुलीले जानकारी दिए।
स्वदेशी उत्पादनहरूको प्रदर्शन तथा बजारीकरणसँगै प्राविधिक र व्यवस्थापकीय अनुभवको आदानप्रदान र नेपाली उद्योगका लागि अवसरको खोजीको कडीको रूपमा प्रदर्शनीलाई लिइएको छ।
प्रदर्शनीमा औद्योगिक प्रविधि, सूचना प्रविधि, रेष्टुरेन्ट, कृषि, हस्तकला, फ्लोरिकल्चर, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, आइटी लगायतका उत्पादन र वस्तुका स्टल छन्।
विभिन्न मापदण्डभित्र रहेका उद्योग र महिला उद्यमीलाई स्टल शुल्कमा २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिने प्रदर्शनी आयोजक समितिका सदस्य सचिव हरि खत्रीले जानकारी दिए।
प्रदर्शनीमा ६ लाख दर्शकले अवलोकन गर्ने र ३० करोडको आर्थिक कारोबार हुने आयोजकको अपेक्षा छ।
नेपाल उद्योग परिसंघका लुम्बिनी प्रदेश अध्यक्ष एजाज आलम प्रदर्शनीमार्फत् विदेशका औद्योगिक प्रतिष्ठानसँग नेपालका उद्यमीलाई प्रतिस्पर्धा गर्न सक्ने वातावरण तयार गर्न प्रदर्शनी सफल हुने बताउँछन्।
तयारीकै क्रममा प्रदर्शनी आयोजक रूपन्देही उद्योग संघको टोली पूर्वका औद्योगिक नगर तथा उद्योग प्रतिष्ठानको भ्रमण गरेर बुटवल फर्किएको छ।
प्रदर्शनी प्रबन्धक यादवप्रसाद भण्डारीले चितवन, हेटौंडा, वीरगंज, पोखरा लगायतका औद्योगिक क्षेत्रहरूमा रहेका उद्योग प्रतिष्ठानहरूको भ्रमण गरेर प्रदर्शनीमा सहभागिताका लागि औपचारिक रूपमा आमन्त्रण गरिएको जानकारी दिए।