एन्टिडोटले आफ्ना ग्राहकहरूका लागि सेवा-सुविधासम्पन्न डिजिटल ‘थ्रिफ्ट स्टोर’को सुरुआत घोषणा गरेको छ। ई-कमर्स प्लेटफर्म एन्टिडोटमा प्रयोगकर्ताहरूले आफूले प्रयोग गरिसकेका अथवा नयाँ लुगा, किताब, जुत्ता लगायत अन्य वस्तुहरूको सजिलै बिक्री-वितरण गर्न सक्नेछन्। साथै डिजिटल थ्रिफ्ट स्टोरमा खरिदकर्ताले ढुक्कसँग प्रयोग गरिएको तथा नयाँ वस्तुहरूमा उत्कृष्ट डिलहरू (३० प्रतिशतदेखि ९० प्रतिशत सम्मको छुट) पाउन सक्नेछन्।
एन्टिडोटका संस्थापक मनिष जंग थापाका अनुसार उनीहरूले विगत एक वर्षदेखि सेवाग्राहीसँग सम्पर्क तथा छलफल गरिरहेका छन्। उनका अनुसार एन्टिडोटले यतिबेला ग्राहकहरूको लागि विभिन्न विशेषताहरू पनि सार्वजनिक गर्दैछ।
विक्रेताको रूपमा कसरी सुरू गर्ने?
विक्रेताको रूपमा सुरू गर्न चाहने जो-कोहीले पनि एन्टिडोटको ‘सेलर पोर्टल’मा आफ्नो अकाउन्ट खोल्नुपर्ने हुन्छ। कम्पनीले दिएको जानकारी अनुसार विक्रेताले आफूले बेच्न चाहेको वस्तुहरू काठमान्डौं उपत्यकामा रहेका १३ ‘सेल्फ-ड्रप लोकेसन’ मा छोड्न वा घरैबाट पिक-अपका लागि बोलाउन सक्छन्।
हालसम्म उपत्यकामा न्यूरोड, धोबीघाट, टेकु, सातदोबाटो, बालाजु, अनामनगर, चाबाहिल, जडिबुटी, सूर्यविनायक, महाराजगंज, पुलचोक र कुपन्डोलमा यस्ता सेल्फ ड्रप लोकेसन छन्। कम्पनीले छिट्टै अन्य थप २ शहरहरूमा ‘पिक-अप सर्भिस’को विस्तार गर्दै १० शहरको ५० स्थानहरूमा ‘सेल्फ-ड्रप’ को सुविधा विस्तार गर्ने योजना बनाएको छ।
सामान बिक्री भइसकेपछी मात्रै कमिसन लिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ। २० प्रतिशत कमिसन बापत एन्टिडोटले विक्रेताहरूबाट सामान पिकअप गर्ने (विक्रेताको अनुरोधमा), भण्डारण गर्ने, फोटोग्राफी, डेलिभरी, रिटर्न ह्यान्डलिङ लगायत पेमेन्टको जिम्मा लिन्छ ।
कम्पनीका अनुसार पहिलो ५०० खरिदकर्ताले ‘एन्टिडोट डिस्काउन्ट अफर’ अनुरुप एक हजार रुपैयाँभन्दा माथिको अर्डरमा निःशुल्क डेलिभरीको सुविधा पाउन सक्नेछन्।
सन् २०२० मा स्थापित एन्टिडोटले हालसम्म ५ हजारभन्दा बढी बिक्रेताहरूलाई उनीहरूले प्रयोग गरेका वा नयाँ वस्तुहरू बिक्री गर्न मद्दत गरेको छ।