ललितपुरस्थित ग्वार्को चोकमा निर्माण हुने ओभरपासको डिजाइन अध्ययन लागि पुल महाशाखामा पुगेको छ।
अध्ययनपछि सबै ठीक भए महाशाखाले डिजाइन स्वीकृत गर्नेछ।
केही हेरफेर गर्न पर्ने देखिए थप सुझाव दिन सक्ने सडक विभाग, गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका इन्जिनियर सौरव बज्राचार्यले बताए।
'हेरफेर गर्न पर्ने भए पनि ओभरपासको समग्र डिजाइन नै परिवर्तन हुने होइन। हामीले विभिन्न सामग्री यति प्रयोग गर्नुपर्छ भनेर बनाइएकोमा केही परिमाण हेरेफेर हुन सक्छ। अथवा त्यहि ठीक पनि हुन सक्छ।,' उनले सेतोपाटीसँग भने।
गत मंसिर १६ गतेदेखि ओभरपास निर्माणका लागि पूर्व तयारी सुरू गरिएको छ।
उपत्यकामा धेरै जाम हुने क्षेत्रमध्ये एक ग्वार्को चोकमा लामो समय अगाडिदेखि ओभरपास निर्माणको विषय चर्चामा छ।
यो ओभरपास अबको १६ महिनाभित्र निर्माण सक्ने लक्ष्य रहेको केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार यस्तो ओभरपास नेपालमै पहिलो पटक बन्न लागेको हो। विदेशमा यस्ता ओभरपास विभिन्न शैलीमा बनाउने चलन छ। हामीकहाँ बन्न लागेको यो ओभरपास भने सामान्य शैलीको हो।
यसमा पिलर प्रयोग हुँदैन। स्लोप (भिरालो) पारेर हाइट (उचाई) बनाइन्छ। र ओभरहेड ब्रिज राखिन्छ।
चक्रपथ सडकको फास्ट ट्र्याकमा यस्तो स्लोप बनाइनेछ। पश्चिम अर्थात् बिएन्डबी अस्पतालतर्फबाट चोकसम्म १८५ मिटरको लामो स्लोप बनाइनेछ। त्यसैगरी बालकुमारीतर्फबाट ३२० मिटरको अर्को स्लोप बनाइनेछ।
यसबीचमा ३५ मिटरको ओभरहेड ब्रिज रहन्छ। जसले कुल ५४० मिटरको ओभरपास निर्माण हुन लागेको हो। स्लोपको चौडा १६ मिटर रहन्छ। ओभरपास चार लेनकै रहन्छ। बीचका लेनमा ओभरपास रहे पनि दायाँबायाँ सर्भिस लेनहरू हालकै अवस्थामा रहन्छन्।
ओभरपास निर्माणपछि ग्वार्को चोकमा हुने ट्राफिक जाम हट्ने विश्वास विभागको छ।
ग्वार्को चोकबाट आरपार गर्ने सवारीहरू ३५ मिटरको ओभरहेड मुनिबाट गुड्ने हुँदा जाम नहुने श्रेष्ठको तर्क छ।
यो चोकमा कम्तीमा २० मिनेटदेखि ४५ मिनेटसम्म पनि ट्राफिक जाम हुने समस्या छ।
ओभरपास बनेपछि सवारीसाधनहरू बिना अवरोध ओभरपासकै मुनिबाट वारपार गर्छन्। त्यसो हुँदा दुर्घटना जोखिम समेत कम हुने विश्वास लिइएको छ।
सडक विभागले २०७८ सालमा ओभरपास निर्माण ठेक्का लगाएर डिजाइनको जिम्मा दिएको थियो। निर्माणको जिम्मा आशिष, रेलिगेयर, समानान्तर जेभीले पायो। ओभरपास निर्माण तथा डिजाइन दुई वर्षभित्र सक्नुपर्ने सम्झौता छ।
डिजाइन निर्माणमै ढिलाइ गरेका कारण अब निर्माण १६ महिनाभित्र सकिसक्नुपर्ने छ। ठेकेदार कम्पनीले डिजाइन तयार गर्न करिब ८ महिना लगाएको थियो।
अब डिजाइन स्वीकृत भएर आएपछि निर्माण सुरू हुने इन्जिनियर बज्राचार्यको भनाइ छ।
'ठ्याक्कै यहि मितिदेखि निर्माण सुरू हुन्छ भन्न सकिँदैन। तर अबको करिब दुई हप्ता भित्र डिजाइन स्वीकृतको काम सकिन्छ कि,' उनले भने।
यो ओभरपास १७ करोड ६ लाख रूपैयाँमा ठेक्का लागेको हो। निर्माण सकिएको पाँच वर्षसम्म ठेकेदार कम्पनीले नै मर्मतसम्भार गर्ने सम्झौतामा उल्लेख छ। निर्माण सुरू भएसँगै चक्रपथको ट्राफिक व्यवस्थापनका निम्ति आवश्यक योजनाहरू बनाइएको छ।
यो ओभरपास बनाउँदा सबभन्दा ठूलो समस्या चक्रपथको ट्राफिक व्यवस्थापन पर्ने अनुमान छ।
ग्वार्को क्षेत्रमा चलिरहेको चार लेनमै निर्माण क्याम्प बनाउनुपर्ने भएकाले दायाँबायाँको लेनमा सवारीको चाप उच्च हुनेछ। यो ओभरपास निर्माणाधीन अवस्थामा सर्भिस लेनबाट सवारी गुड्छन्।
कोटेश्वरबाट सातदोबाटोतर्फ जाने सवारी साधनलाई बालकुमारी पुलबाट सर्भिस लेनमा पठाइन्छ।
कोटेश्वरबाट सातदोबाटोतर्फ आवतजावत गर्ने सवारीहरू ग्वार्को चोकभन्दा ६ सय मिटर अगाडि/पछाडि सर्भिस लेनबाट चलाउनु पर्छ।
सडक विभागले सातदोबाटो र एकान्तकुनामा पनि ओभरपास निर्माण गर्ने तयारी गरेको छ। ओभरपास निर्माणको सम्भाव्यता अध्ययन सकिएको छ। ओभरपासको फाइल अर्थ मन्त्रालय पुगेर विभागमा फर्किसकेको बताइएको छ।
फाइल अहिले योजना महाशाखामा छ। अर्थ मन्त्रालयबाट ओभरपास निर्माणको स्रोत सुनिश्चितता भएको छैन। रकम आउनेबित्तिकै काम अघि बढ्ने विभागको भनाइ छ।
चक्रपथको ट्राफिक जाम समस्या सुल्झाउन ललितपुर महानगरपालिकाले २०७४ सालमै ललितपुरका विभिन्न चार स्थानमा ओभरपास बनाउने योजना अघि सारेको थियो।
चक्रपथको कोटेश्वर कलंकी खण्डको व्यस्त सडकमा इञ्जिनियरिङ समस्या देखिएकाले महानगरले यस्तो योजना अघि सारेको थियो। ओभरपास निर्माणपछि चोकमा सवारीसाधन वारपार गराउन सहज पुग्ने विश्वास थियो।
तत्कालीन समयमा सेतोपाटीसँग कुरा गर्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ग्वार्को, एकान्तकुना, सातदोबाटो चोक र सातदोबाटोबाट चापागाउँ जाने बाटोमा ओभरपास निर्माण गरिने बताएका थिए। सोही समयमा डिजाइन र सम्भाव्यता अध्ययन गर्न परामर्शदाता छनौट प्रक्रिया सुरू भएको पनि बताएका थिए।
रिङरोडको गलत डिजाइन भएका कारण सवारी साधन पूर्ण क्षमतामा गुड्न थालेपछि इन्टरसेक्सनमा दुर्घटना जोखिम बढ्ने अनुमान महानगरको थियो। गलत डिजाइनमा बनिसकेको रिङरोड निर्माण भत्काएर नयाँ डिजाइन बनाउन सम्भव नरहेका कारण ओभरपास योजना ल्याइएको महानगरको तर्क थियो।