माघे संक्रान्ति तथा जैविक विविधता दिवसको अवसरमा काठमाडौंको कपनस्थित ७ दिने खाना महोत्सव सकिएको छ।
मौलिक बजार तथा मौलिक भान्छाघरले मौलिक तथा रैथाने खानेकुरा प्रवर्द्धनका लागि महोत्सव आयोजना गरेको बताएको छ।
माघ १ गते बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले महोत्सवको उद्घाटन गरेका थिए। महोत्सवको समापन राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेत गरे।
उपाध्यक्ष बस्नेतले मौलिक भान्छाले आयोजना गरेको मौलिक र रैथाने खाना महोत्सव उदाहरणीय भएको बताए।
यसको प्रवर्द्धनमा युवा परिषद्को सहयोग रहने समेत उनले उल्लेख गरे।
यस्ता महोत्सवबाट स्वादसँगै स्थानीय उत्पादनहरूको बजारीकरण हुने उनको भनाइ छ।
यस्ता खानेकुराले शरीरलाई फाइदा गर्ने हुँदा राज्यले ध्यान दिनुपर्ने पनि उनले जोड दिए।
६ सय ५० जनाले महोत्सव अवलोकन गरेको आयोजक सुमन दाहालले जानकारी दिए।
गत आइतबारबाट सुरू भई शनिबारसम्म महोत्सव चलेको थियो।
सो कार्यक्रममा विभिन्न स्वदेशी र रैथाने खानाको परिकारका स्टल राखिएको थियो। महोत्सवमा जानेहरूका लागि एक सेट खाना निःशुल्क चखाउने व्यवस्था गरिएको थियो।