स्मार्ट प्यारेन्टिङ नेपालले बालबालिकाहरूका लागि सही र उपयुक्त विद्यालय कसरी छनौट गर्ने भन्ने विषयमा शनिबार भर्चुअल कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा बाल विकास विशेषज्ञ सानु अमात्यले श्रोत व्यक्तिको रूपमा आफ्नो अनुभव र विचारहरू प्रस्तुत गरिन्।
विद्यालय एउटा समाज हो। जहाँ बालबालिकाहरूको इच्छा, क्षमता र बुद्धि अनुसार भविष्यको लागि आत्मनिर्भरता र इमान्दारिताको अभ्यास गराइन्छ।
स्मार्ट प्यारेन्टिङका अनुसार बालबालिकाहरूको सर्वाङ्गिण विकास र उज्ज्वल भविष्यको लागि सही विद्यालय छनौट गर्न अभिभावकहरू सचेत हुनु आवश्यक छ। तर अधिकांश अभिभावकहरू विद्यालय छनौटमा अझै अन्योलको अवस्थामा रहेको पाइने स्मार्ट प्यारेन्टिङका सह-संस्थापक कवीन्द्र नापित बताउँछन्।
बाल विकास विशेषज्ञ अमात्यले अभिभावकहरूले आफ्ना बाल-बालिकाहरूका निम्ति विद्यालय छनौट गर्दा तीनटा 'व' लाई ध्यानमा राख्न सुझाव दिइन्। तीन वटा 'व' अर्थात् व्यवहार, वातावरण र व्यवस्थापन।
उनका अनुसार अभिभावकहरूले विद्यालयका शिक्षक, कर्मचारी तथा संलग्न व्यक्तिहरूको व्यवहार कस्तो छ, उनीहरूमा बाल मनोविज्ञान र पाठ्यक्रमको अवधारणा छ कि छैन भन्ने कुरा अभिभावकहरूले बुझ्नु जरुरी छ।
अभिभावकहरूले आफ्नो बालबालिका पढ्ने विद्यालयको वातावरण बालमैत्री भए-नभएको पनि विचार पुर्याउन आवश्यक छ। वातावरण सफा, स्वच्छ र सुरक्षित छ कि छैन भनेर निरीक्षण गर्नुका साथै विद्यालयको व्यवस्थापनको लक्ष्य, उद्देश्य, भविष्यको योजनाहरू के छन् भन्नेमा पनि विचार पुर्याउनु पर्छ। यसका साथै व्यवस्थापनमा दक्ष र सक्षम व्यक्तिहरू छन् या छैनन् भन्नेबारेमा पनि अभिभावकले जानकारी लिन जरुरी छ।
बाल विकास विशेषज्ञ अमात्यले अभिभावकहरू विद्यालय छनौटका लागि संवेदनशील, सचेत र सक्रिय हुनुपर्ने विषयमा जोड दिइन्।
बालबालिकाहरूको समष्टिगत विकासको निम्ति अभिभावकहरूमा अभिभावकीय शीप र कलाको विकास गरेर यसको महत्वलाई प्रवर्धन गर्ने हेतुले स्मार्ट पारेन्टिङ नेपालले मासिक रूपमा विभिन्न विषयमा भर्चुअल कार्यक्रमहरू संचालन गरिरहेको छ।
उक्त अभियानलाई सशक्त रूपमा अगाडी बढाउन अभिभावकहरूको सञ्जाल एसपिएन नेटवर्कको अवधारणा पनि विकाश गरिएको छ। यसमा इच्छुक जो-कोही पनि स्मार्ट प्यारेन्टिङमा सम्पर्क गरेर आबद्ध हुन सक्छन्।