काठमाडौंको सोल्टी होटलमा चलिरहेको दुबई प्रोपर्टी शोलाई प्रहरीले रोकेको छ।
अवैध रूपमा मेला लगाएको भन्ने खबर पाएपछि प्रहरीले उक्त मेलालाई रोकेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए।
उक्त मेला शनिबार र आइतबारको लागि तय थियो। आइतबार जिल्ला प्रहरी परिसर काठमाडौंको टोली पुगेको हो।
एसएसपी कार्कीका अनुसार अनुमति नलिएर मेला चलाएको भन्दै उक्त मेला रोकेको हो।
‘अनुमति नलिई आर्थिक कारोबार गरेको देखियो। त्यही भएर हामीले रोकेका हौं,’ उनले भने।
प्रहरीले पाँच जना भारतीय नागरिकको राहदानी पनि नियन्त्रणमा लिएको छ। पाँचै जना भारतीय नागरिक दुबई बसेर व्यापार गर्दै आएको प्रहरीले जनाएको छ।
यसअघि नेपाल राष्ट्र बैंकले यस्ता मेला आयोजना गर्न नहुने भन्दै सुचना पनि जारी गरेको थियो।
बैंकले विदेशमा लगानी गर्न प्रतिबन्ध रहेको भन्दै जानकारी गराएको हो।
नेपालमा बसोबास गर्ने व्यक्तिहरूले कुनै पनि तरिकाले विदेशमा भुक्तानी दिन पनि प्रतिबन्ध रहेको उक्त सूचनामा उल्लेख छ।
‘नेपालमा बसोबास गर्ने कुनै पनि व्यक्तिले कुनै पनि किसिमले विदेशमा लगानी हुनेगरी कुनै पनि कार्यहरू जस्तैः विदेशमा घर जग्गा खरिद, धितोपत्र खरिद, सम्पत्ति खरिद, विदेशी बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मा गर्नेलगायतका पुँजीगत प्रकृतिका कारोबार (सोसम्बन्धी प्रचारप्रसार समेत) र यस बैंकले तोकिदिएको व्यवस्थाबमोजिम बाहेक विदेशमा भुक्तानी हुनेसम्बन्धी कार्य नगर्नु र नगराउनु,’ सूचनामा भनिएको छ।
यस्तो काम गरेको पाइएमा कानुन बमोजिम कारबाही समेत गर्ने बैंकले चेतावनी दिएको छ।