म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजना निर्माण अन्तिम चरणमा पुगेको छ। म्याग्दी हाइड्रोपावर प्रालि प्रवर्द्धक रहेको आयोजनाको भौतिक संरचना निर्माण सकेर उपकरण जडान सुरू भएको छ।
आयोजनाका आवासीय इञ्जिनियर जोसेप बज्राचार्यले आगामी चैत महिनाभित्र विद्युत उत्पादन सुरू गर्ने तयारी भइरहेको भन्दै हाल बाँध, सुरुङ र पेनस्टेक पाइपलाइनको परीक्षण गर्ने तयारी भएको बताए। उनका अनुसार तीन हजार पाँच मिटर लामो सुरूङ पलास्टरको काम पनि अन्तिम चरणमा छ।
अन्नपूर्ण गाउँपालिका–५ शिख र ६ घारको सिमानामा पर्ने कुरिला बगरमा जगदेखि ११ मिटर अग्लो बाँध निर्माण भएको छ। बाँध र ४५ मिटर लम्बाइको दुई वटा पानी थिग्राउने पोखरी (डिसेन्डर) बनाइएको छ। डिसेन्डरदेखि सुरूङसम्म दुई सय ४८ मिटर लामो डिसेण्डर एप्रोच क्यानल जडान भएको छ। बाँध, डिसेण्डर र एप्रोच क्यानलको पहिलो चरणको परीक्षण सफल भएको छ।
अमिला काफलमा रहेको आउटलेटदेखि विद्युत गृहसम्म चार सय ८५ मिटर पेनस्टक पाइप जडान भएको छ। आउटलेटदेखि विद्युत गृहको दुरी एक हजार २०० मिटर र उचाइ चार सय ८५ मिटर छ। पोखरे बगरस्थित गोजेखोल्सीमा पहाड काटेर विद्युत गृहको भवन निर्माण सकेर झ्याल ढोका राख्ने र रङगरोगन भइरहेको छ।
विद्युत गृहमा टर्वाइन, जेनेरेटर लगायतका इलेक्ट्रोमेकानिकलतर्फका उपकरण जडान भइरहेको छ।
इलेक्ट्रिकल ठेकेदार सिमर इनर्जी प्रालि इन्डिया, हाइड्रो मेकानिकल ठेकेदार सिई हाइड्रो मेकानिकल वर्क प्रालिका प्राविधिकले विद्युत गृहमा उपकरण जडानको काम गरिरहेका हुन्।
सिभिल ठेकेदार साउथ एसियन इन्फ्रास्ट्रक्चरले ९८ प्रतिशत भौतिक संरचना निर्माण सकेको बताएको छ।
पोखरेबगरदेखि दुई सय २० केभी क्षमताको दाना सब स्टेसनसम्म आठ किलोमिटर ३३ केभिएको डबल सर्किट प्रसारण लाइनको पोल गाड्ने र सवस्टेसनमा सिभिल संरचना बनाएर तार तान्न थालिएको छ।
विसं २०७४ चैत महिनादेखि सुरु भएको घारखोला विसं २०७८ माघमा सञ्चालन गर्ने लक्ष्य राखिएको थियो।
कोरोना, निषेधाज्ञा, बन्दाबन्दी र प्राकृतिक विपदका कारण ढिलाइ भएको हो। कूल दुई अर्ब ४२ करोड रुपैयाँको लागत अनुमान गरिएको आयोजनामा एनएमबि बैंकको नेतृत्वमा एनआइसी एसिया, कुमारी र प्राइम कमर्सियल बैंकले कर्जा लगानी गरेका छन्।
नागरिक ऊर्जा बुटवल लिमिटेडको अगुवाइमा रूपन्देहीका सर्वसाधारणले पनि लगानी गरेका छन्।
आयोजना प्रभावित र सर्वसाधारणका लागि संस्थापक सेयर लगानी आह्वान गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको प्रवर्द्धकले बताएका छन्।