नेपाल चेम्बर अफ कमर्सले ७१औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागका निर्देशक डा राम मैनालीलाई सम्मान गरेको छ।
भन्सार विभागमा रहेर उत्कृष्ट सेवा गरेको भन्दै चेम्बरले निर्देशक रेग्मीलाई सम्मान गरेको हो।
काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र मल्ल र अर्थसचिव तोयम रायले प्रमाणपत्र सहित निर्देशक मैनालीलाई सम्मान गरेका हुन्।
भन्सार विभागमा रहेर उत्कृष्ट सेवा प्रवाह गरेकाले मैनालीलाई ७१औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा सम्मान गरिएको अध्यक्ष मल्लले बताए।
भन्सार विभागकै सिफारिसका आधारमा चेम्बरले निर्देशक मैनालीलाई सम्मान गरेको हो।
अर्थमन्त्रालयमा लामो समय काम गरेका मैनालीले यसअघि रसुवा भन्सार प्रमुखका रुपमा काम गरेका थिए। अर्थमन्त्रालयले भ्याट प्रणाली लागू गर्दा उनले पनि योगदान पुर्याएका थिए।
सम्मान कार्यक्रममा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले आयत निरुत्साहित र निर्यात प्रवर्द्धन हुनेगरी व्यापार सहजीकरण हुनुपर्ने बताए।
उनले भन्सारमा सन्दर्भ मूल्यभन्दा पनि कारोबार मूल्यलाई मान्यता दिनुपर्ने बताए। भन्सार प्रशासन सुधार गरे मात्रै राजस्वमा सुधार आउने मल्लको भनाइ छ।
कार्यक्रममा अध्यक्ष मल्लले बिल बिजक लिने दिने कार्यलाई बाध्यकारी बनाउनुपर्नेमा जोड दिए। करको दर नभई दायरा बढाएर राजस्वको लक्ष्य पूरा गर्नुपर्ने अध्यक्ष मल्लले बताए।
सरकारीको एकद्वार नीति कार्यान्वयन हुन नसक्दा व्यवसायीले अनावश्यक दुःख पाइरहेका भन्दै उनले भन्सार प्रशासनमा पनि डिजिटल प्रणालीको व्यवस्था गर्नुपर्ने बताए। भन्सार नाकाहरूमा अन्तर्राष्ट्रिय स्तरको प्रयोगशाला बनाउनु पर्नेमा अध्यक्षले जोड दिए।
सम्मान कार्यक्रममा अर्थसचिव रायले भन्सार नाकाहरुमा कारोबार मूल्यलाई कायम गर्न समस्या नरहेको बताए।
मुलुक विश्व व्यापार संगठन डब्लुटिओको सदस्य भइसकेको अवस्थामा सोही अनुसारको अन्तर्राष्ट्रिय मूल्य मान्यतालाई कायम गर्नुपर्ने रायले बताए।
भन्सार सुधारको आवश्यक्ता आफूलाई पनि महसुस भएको रायको भनाइ छ।
भन्सार विभागका महानिर्देशक चक्र बहादुर बुढाले भन्सार नाकाहरूबाट व्यापार सहजीकरणका लागि काम भइरहेको बताए।
यसका लागि विभागले डिजिटलाइजेसन प्रणाली भित्र्याउने गृहकार्य गरिरहेको महानिर्देशक बुढाको भनाइ छ।
भन्सार दिवसका अवसर पारेर चेम्बरले प्रत्येक वर्ष भन्सार विभागका उत्कृष्ट एक कर्मचारीलाई सम्मान गर्दै आएको छ।