नेपाल उद्योग परिसंघ प्रदेश १ समितिले माघ १९ देखि विराटनगरमा ‘सिएनआई कोसी एक्स्पो २०७९’ आयोजना गर्ने भएको छ।
औद्योगिक उत्पादनहरूको विशेष प्रदर्शनीसहितको एक्स्पोमा नेपालमा ठूला औद्योगिक उत्पादनहरूले स्टलसहित सहभागिता जनाउने भएका छन्।
‘यहाँका हरेक एक्स्पोहरूमा स्थानीय उत्पादनहरूकै मात्रै उपस्थिति हुँदै आएको थियो’, परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले भने, ‘कोसी एक्स्पोमा भने मुलुकका ठूला औद्योगिक उत्पादनहरू पनि स्टलसहित सहभागी हुँदैछन्।’
अहिले एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको घिमिरेले सेतोपाटीलाई जानकारी दिए।
उनका अनुसार यसपटक विराटनगर बाहिरका उद्योग र ठूला ब्राण्डहरू आफ्नो उत्पादनको प्रवर्द्धनका लागि सहभागी हुँदैछन्।
विराटनगर, वीरगञ्ज, भैरहवा, नवलपरासी, काठमाडौं लगायतका प्रमुख औद्योगिक क्षेत्रका उद्योगहरूले एक्स्पोमा सहभागिता सुनिश्चित गरेको उनले जानकारी दिए।
‘चौधरी ग्रुप, यामाहा, सूर्य पेन्ट्स, रूस्लान, न्यूट्री प्लस फुड लगायतका उत्पादनले सहभागिता जनाउने भएका छन्’, उनले भने।
एक्स्पोमा प्रदेश १ का प्राय: सबै उद्योगहरूले सहभागिता जनाउने घिमिरेले बताए।
एक्स्पोमा कृषि उत्पादन किवीदेखि बरमझियाको पेडासम्मको प्रदर्शनी र बिक्री वितरण हुनेछ। एक्स्पोमा प्रवेशका लागि अनलाइन टिकेटिङको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ।
विराटनगर–२ शंकरपुरमा एक्स्पो स्थल निर्माणको तयारी अन्तिम चरणमा पुगेको आयोजकको भनाइ छ।