प्रदेश १ स्थित निजी क्षेत्रका विभिन्न संघ संस्थाहरूले बैंकहरूले लादेको चर्को ब्याजदर नै उद्यमीको ज्यान लिने कारक बनिरहेको बताउँदै यसबारे गम्भीर हुन सम्बद्ध पक्षको ध्यानाकर्षण गराएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ समितिका अध्यक्ष टीकाराज ढकालले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो विकराल अवस्थाको अन्त्य गर्न माग गरेका छन्।
‘कोभिडको महामारी, युक्रेन र रूसको युद्ध, बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदर लगायतका कारण देशको आर्थिक अवस्था भयावह स्थितिमा रहेको छ ’, अध्यक्ष ढकालले विज्ञप्तिमा भनेका छन्, ‘व्यवसायीहरूले आफ्नो उत्पादन कटौती गर्न बाध्य छन् भने बजारबाट उधारो उठ्न नसक्दा व्यवसायको प्रशासनिक खर्च धान्न समेत धौधौ परेको छ। सरकारको राजश्व, बैंक ब्याज लगायतका कारण कारोबारमा ठूलो समस्या आएको छ।’
‘सूर्योदय इलामका व्यवसायी प्रेमप्रसाद आचार्यले खुलेआम आत्मदाह गर्दै सामाजिक सञ्जालमा पोष्ट गरेका यथार्थ वेदनाबाट समेत अहिले व्यवसायको अवस्था के रहेछ भन्ने खुलस्त देखिन्छ,’ महासंघले विज्ञप्तिमा भनेको छ, ‘यसैगरी विराटनगरका इलेक्ट्रिक व्यवसायी मोहन न्यौपानेले पनि सुसाइड नोटमा बैंक ब्याजका कारण देखाई आत्महत्या गरेका छन्।’
उद्योगी व्यवसायीहरूले भोग्नु परेका समस्याका बारेमा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ ले नेपाल सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आए पनि यसमा ठोस कार्यान्वयन हुन नसकेको महासंघको भनाइ छ।
‘देशमा प्रेमप्रसाद आचार्य, मोहन न्यौपानेजस्ता कैंयन् व्यवसायीहरू पीडामा छन् र भविष्यमा यस्ता घटना नदोहोरिएला भन्न सकिन्न’, महासंघले भनेको छ, ‘सरकारको नीतिकै कारण आज व्यवसायीहरूले अनेकौं समस्याहरू झेल्दै आएको हामीले महसुस गरेका छौंं। अतः व्यवसायीहरूलाई आफ्नो कारोबार निर्धक्क रूपमा गर्ने वातावरण बनाउन र भविष्यमा यस्ता घटना दोहोरिन नदिन नेपाल सरकार लगायत सम्बन्धित निकायमा अनुरोध गर्दछौं।’
उद्योग संगठन मोरङले पनि उद्योगी व्यवसायीहरूको उचित गुनासो, पिरमर्का, समस्यालाई गम्भीरतापूर्वक सुनी समयमै सम्बोधन गर्न नियमनकारी नियकायलाई आग्रह गरेको छ।