नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्ड लिमिटेडले मेवा डेभलपर्स लिमिटेडमा लगानी गरेको छ।
नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्ड ग्लोबल इक्विटी फण्ड, प्राइम लाइफ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा संयुक्त रूपमा प्रवर्द्धन गरिएको हो।
मेवा डेभलपर्सले हाल ताप्लेजुङ जिल्लामा ७३.५० मेगावाटको मध्य मेवा जलविद्युत र ९.३० मेगावाटको सिवा खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ।
जलविद्युत विकासकर्ता र नवीकरणीय ऊर्जा क्षेत्रमा एक समग्र समाधान प्रदायक कम्पनी ऊर्जा डेभलपर्स यस कम्पनीको संस्थापक प्रवर्द्धक हो।
एनआइआइएफबाट प्राप्त रकम कम्पनीले विकास गरेका दुई पिआरओआर प्रकारका जलविद्युत आयोजनाको कार्यान्वयनमा प्रयोग गरिने मेवा डेभलपर्सका प्रबन्ध निर्देशक भानु पोखरेलले बताए।
'मेवाले सफा ऊर्जा प्रवर्द्धनसँगै सबै सरोकारवालाहरूको लागि राम्रो र दिगो भविष्य सिर्जना गर्न इएसजी अनुपालन अभ्यास पनि गरेको छ।' उनले भने।
यस लगानीबाट मेवाले ऊर्जा उत्पादनको सन्दर्भमा जलविद्युत उद्योगको नेतृत्व गर्न जारी राख्नुका साथै वातावरण, सामाजिक र सुशासन लाभहरू अभिवृद्धि गर्न नयाँ दृष्टिकोणहरू ल्याउनेमा एनआइआइएफ विश्वस्त रहेको एनआइआइएफको लगानी प्रबन्धक ग्लोबल इक्विटी फन्डका प्रबन्ध निर्देशक, डा. मनिष थापाले बताए।