लिलतपुरस्थित ग्वार्को चोकमा निर्माण हुने ओभरपासको डिजाइन परिवर्तन भएको छ।
परिवर्तन भएको डिजाइन आज पुल महाशाखाले स्वीकृत गर्ने सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख नवीनमान श्रेष्ठले जानकारी दिए।
'डिजाइनमा त्यति ठूलो परिवर्तन भएको होइन,' उनले भने, सानो परिवर्तन हो। आज स्वीकत भएपछि काम सुरू भइहाल्छ।'
पिलरको सबस्ट्रक्चरमा परिवर्तन गर्नु परेको उनले बताए।
'पहिलेको डिजाइनमा माथि १.५ मिटरको सबस्ट्रक्चर पिलर थियो। तल १.२ मिटरको। अब तल र माथि बराबर १.५ मिटरकै बनाउने डिजाइन भएको हो,' उनले भने।
उपत्यकामा धेरै जाम हुने क्षेत्रमध्ये एक ग्वार्को चोकमा लामो समय अगाडिदेखि ओभरपास निर्माणको विषय चर्चामा छ।
यो ओभरपास निर्माणका लागि गत मंसिर १६ गतेदेखि पूर्वतयारी गरिएको थियो। निर्माण थाल्ने क्रममा डिजाइन परिवर्तन गर्नुपर्ने भएपछि हाल रोकिएको छ।
पछिल्लो परिवर्तित डिजाइन स्वीकृत भएपछि कामले निरन्तरता पाउने श्रेष्ठले बताए।
यो ओभरपास अबको १६ महिनाभित्र निर्माण सक्ने लक्ष्य छ।
केन्द्रका अनुसार यस्तो ओभरपास नेपालमै पहिलो पटक बन्न लागेको हो। विदेशमा यस्ता ओभरपास विभिन्न शैलीमा बनाउने चलन छ। हामीकहाँ बन्न लागेको यो ओभरपास भने सामान्य शैलीको हो।
यसमा पिलर प्रयोग हुँदैन। स्लोप (भिरालो) पारेर हाइट (उचाई) बनाइन्छ। र ओभरहेड ब्रिज राखिन्छ।
चक्रपथ सडकको फास्ट ट्र्याकमा यस्तो स्लोप बनाइनेछ। पश्चिम अर्थात् बिएन्डबी अस्पतालतर्फबाट चोकसम्म १८५ मिटरको लामो स्लोप बनाइनेछ। त्यसैगरी बालकुमारीतर्फबाट ३२० मिटरको अर्को स्लोप बनाइनेछ।
यसबीचमा ३५ मिटरको ओभरहेड ब्रिज रहन्छ। जसले कुल ५४० मिटरको ओभरपास निर्माण हुन लागेको हो।
स्लोपको चौडा १६ मिटर रहन्छ। ओभरपास चार लेनकै रहन्छ। बीचका लेनमा ओभरपास रहे पनि दायाँबायाँ सर्भिस लेनहरू हालकै अवस्थामा रहन्छन्।
ओभरपास निर्माणपछि ग्वार्को चोकमा हुने ट्राफिक जाम हट्ने विश्वास विभागको छ।
ग्वार्को चोकबाट आरपार गर्ने सवारीहरू ३५ मिटरको ओभरहेड मुनिबाट गुड्ने हुँदा जाम नहुने श्रेष्ठको तर्क छ।
यो चोकमा कम्तीमा २० मिनेटदेखि ४५ मिनेटसम्म पनि ट्राफिक जाम हुने समस्या छ।
ओभरपास बनेपछि सवारीसाधनहरू बिना अवरोध ओभरपासकै मुनिबाट वारपार गर्छन्। त्यसो हुँदा दुर्घटना जोखिम समेत कम हुने विश्वास लिइएको छ।
सडक विभागले २०७८ सालमा ओभरपास निर्माण ठेक्का लगाएर डिजाइनको जिम्मा दिएको थियो। निर्माणको जिम्मा आशिष, रेलिगेयर, समानान्तर जेभीले पायो। ओभरपास निर्माण तथा डिजाइन दुई वर्षभित्र सक्नुपर्ने सम्झौता छ।
डिजाइन निर्माणमै ढिलाइ गरेका कारण अब निर्माण १६ महिनाभित्र सकिसक्नुपर्ने छ। ठेकेदार कम्पनीले डिजाइन तयार गर्न करिब ८ महिना लगाएको थियो।
यो ओभरपास १७ करोड ६ लाख रूपैयाँमा ठेक्का लागेको हो। निर्माण सकिएको पाँच वर्षसम्म ठेकेदार कम्पनीले नै मर्मतसम्भार गर्ने सम्झौतामा उल्लेख छ।