सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले सहकारीमा समस्या होइन, चुनौती छ भन्ने ठानेर समाधानका लागि सहकार्य गर्न सहकारी अभियानसँग आव्हान गरेका छन्।
राष्ट्रिय सहकारी बैंकको सञ्चालक समितिसँग शनिवार भएको छलफल बोल्दै रजिष्ट्रार घिमिरेले अबदेखि सहकारीकर्मीहरुले सहकारीमा समस्या होइन, चुनौती छ भन्ने बुझेर चुनौतीको सामना गर्न लाग्नु पर्नेमा जोड दिए।
‘यतिबेला सहकारी क्षेत्रमा मात्र होइन, मुलुकको अर्थतन्त्र र विश्वमा समेत वित्तीय संकट देखिएको छ, सहकारीमा देखिएको वर्तमानको समस्या सहकारीका कारण आएको होइन। यसलाई समस्याका रुपमा होइन चुनौतीका रुपमा हेर्नु पर्छ’, रजिष्ट्रार घिमिरेले भने, ‘चुनौतीको सामना गर्नका लागि राज्य र सहकारी अभियानबीच सहकार्य र समन्वय हुनु पर्दछ।’
सहकारीको विकास र प्रवर्द्धन गरी मुलुकलाई आर्थिक रुपमा सवल बनाउनका लागि कानुन वाधक देखिए त्यसलाई संशोधन गरेर अगाडि बढ्नु पर्ने उनले बताए।
‘कानुन नियन्त्रणका लागि होइन, सहजीकरणका लागि हो। द्विविधामा मार्ग प्रशस्त गर्ने भएकाले सहकारीको समस्या समाधानका लागि कानुन वाधक भए सहजीकरण गर्नु पर्दछ,’ रजिष्ट्रार घिमिरेले भने।
उनले सहकारी ऐनमा भएका प्रावधानहरुको कार्यान्वयनका लागि सबैसँग समन्वय र सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नु गरे।
बैंकका अध्यक्ष केबी उप्रेतीले वित्तीय संकटका कारण सहकारी क्षेत्रमा देखिएको चुनौतीको सामना गरी सहकारीलाई बचाउनका लागि अभियानका तर्फबाट भइरहेका कामको बारेमा जानकारी दिए।
‘यतिबेला सहकारीलाई बचाउनु पर्ने वाध्यता छ। सबै मिलेर बचाउ र सँगै सहकारीको सुशासनका लागि प्रवर्द्धन नियमन र अनुगमनमा लागौं,’ अध्यक्ष उप्रेतीले भने।