बिजुली उत्पादकहरूले आगामी वर्षायाममा २५ अर्बको बिजुली खेर जाने गुनासो गरेका छन्।
आइतबार पत्रकार सम्मेलनमार्फत स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था (इप्पान) का उपाध्यक्ष आशिष गर्गले आगामी वर्षायाममा आफूहरूले ठूलो नोक्सानी बेहोर्नुपर्ने अवस्था सिर्जना हुने बताए।
‘भारतले पनि ४५२ मेगावाट मात्रै बिजुली लिने सम्झौता गरेको छ। त्यसो हो भने हामीलाई २५ अर्बको बिजुली बढी हुन्छ,’ उनले भने।
आगामी आर्थिक वर्षसम्म करिब एक हजार मेगावाट बिजुली उत्पादन थपिने हुँदा सरकारले पनि बिजुली खेर जान नदिन सोहीअनुसार तयारी गर्नुपर्ने उनको भनाइ छ।
यसअघि पनि सरकारले सम्झौताअनुसार बिजुली नकिनीदिँदा दुई अर्ब नोक्सानी बेहोर्नु परेको व्यवसायीहरूको गुनासो थियो।
सरकारले १५०० मेगावाटसम्मको नदी प्रवाही (आरओआर) जलविद्युत आयोजनाहरूको विद्युत खरिद-बिक्री सम्झौता (पिपिए) खुला गर्ने निर्णयको इप्पानले स्वागत गरेको छ।
प्राधिकरणमा हाल २४० परियोजनाहरूले एघार हजार सात सय १६ मेगावाट बराबर पिपिएका लागि आवेदन दिएका छन्।
विगत चार वर्षदेखि आरओआर ठप्प हुँदा उर्जा क्षेत्र संकटमा पुगेको इप्पानले बताएको छ। अब भने केही आशा पलाएको व्यवसायीहरूले बताएका छन्।
हाल देशको कुल जडित क्षमता करिब २४३० मेगवाट छ। जसमा निजी क्षेत्रको योगदान १७०० मेगावाटभन्दा बढी रहेको इप्पानको दाबी छ।
उर्जा क्षेत्रमा निजी क्षेत्रको कुल १२ खर्ब लगानी रहेको उल्लेख छ।