भारतीय भन्सार विभागले बिहार अररियास्थित मीरगञ्ज पुल नेपालीका लागि पूर्ण रूपमा खुला गरेको छ।
विभागले चारलेन सडकसहित मीरगञ्जको परमान नदीमाथि पक्की पुल बनेपछि भारतीय पक्षले एक वर्षपछि सूचना जारी गर्दै पुलबाट आवतजावत गर्न सकिने अनुमति दिएको हो।
मोरङ व्यापार संघको पहलमा दुवै देशका नेता तथा अधिकारीलाई पुल संचालन गर्न दिइएको दबाबको कारण दुई महिना अघिबाट नै पुल अनौपचारिक रूपमा संचालनमा आएको थियो। तर, नेपालतर्फ भित्रने मालबाहक साधनहरू भण्टाबारी नाकाबाटै आउने गरेका थिए। फर्कंदा मात्रै पुल प्रयोगको अनुमति थियो। गत साता सूचना जारी गरेर विभागले अब मालबाहक साधन आवतजावतको अनुमति दिएको हो।
यो अनुमतिले भारत लगायत तेस्रो मुलुकबाट नेपाल आउने कच्चा पदार्थ लगायतको सामग्री बोकेका मालबाहक साधन ११६ किलोमिटर दुरी पार गर्दै सुनसरीको भण्टाबारी नाकाबाट घुमेर आउनु पर्ने झन्झट अन्त्य भएको छ।
अब ४ किलोमिटर दुरी पार गर्नासाथ नेपालको आइसिपी आइपुग्ने सुविधा प्राप्त भएको छ।
भारतको पटनास्थित कष्टम विभागले सूचना जारी गरी नयाँ मीरगञ्ज पुल संचालनमा आएको र त्यसबाट मालबाहक आवतजावत गर्ने अनुमति दिइएको जनाएको छ। यसअघि भारतका जोगवनीस्थित ल्याण्ड कष्टम र आइसिपीबीच समन्वय हुन नसक्दा आंशिक रूपमा मात्रै मालसामानको कार्गो आयात निर्यात भइरहेको थियो। कष्टम विभागले नै सूचना जारी गरेपछि अब तेश्रो मुलुकबाट आउने र जाने सामानका लागि भण्टाबारी नाका पुग्नु नपर्ने भएको छ।
विभागले आफ्ना मातहतका सबै निकायलाई बोधार्थ दिँदै सूचनालाई तत्काल कार्यान्वयन गराउन निर्देशन दिएको छ। सूचनासँगै विराटनगरको आइसिपीबाटै आयात र निर्यात औपचारिक सुरूआत भएको छ।
मोरङ व्यापार संघको पटक/पटक नेपाल र भारतीय अधिकारीलाई पुल संचालनका लागि गरिएको आग्रह अनुसार अनौपचारिक रूपमा दुई महिनायता पुल संचालनमा आएको थियो।
पुल संचालनमा आए पनि भारत र नेपालका लागि मात्र कार्गो आउने जाने गर्दथे।
तेस्रो मुलुकबाट आउने सामानको हकमा सुनसरीको भण्टाबारी नाका नै प्रयोग हुँदै आएको थियो।
भारतको कमिस्नर अफ कष्टम पटनाका अधिकारी प्रदीप कुमारले सूचना जारी गर्दै मीरगञ्ज पुल हुँदै आवत जावत खुलेको जनाएका हुन्।
पुल पूर्ण रूपमा संचालनमा आएपछि अहिले दैनिक दुई सय सम्म मालवाहक सवारी साधान भारतीय कष्टम हुँदै विराटनगर आइसिपीमा आइरहेको विराटनगर भन्सार कार्यालयले जनाएको छ।
एउटा मालबाहक सवारी भीमनगर हुँदै ११६ किलोमिटर घुमेर आउँदा १६ हजार रुपैयाँ अतिरिक्त भाडा तिर्नु परिरहेको आयातकर्ताको भनाइ थियो। मीरगञ्ज पुल भासिँदा एक वर्षमा २२ अर्ब ५० करोड रुपैयाँले विराटनगर भन्सारबाट हुने कारोबारमा गिरावट आएको थियो।
जोगवनी नाकाबाट मालबाहक जान नसकेपछि सुनसरीको भण्टाबारी नाकाबाट रिरुट भएर आउँदा एउटा कण्टेनरको १६ हजार अतिरिक्त ढुवानी भाडा व्यवसायीले बुझाउँदै आएका थिए। जसको कारण एक वर्षमा व्यवसायीहरूले ११ करोड ५२ लाखको बराबरको अतिरिक्त ढुवानी भाडा तिरेका छन्।