नयाँ बसपार्क क्षेत्रमा भएको लुटपाट एवम् तोडफोड घटनामा संलग्नलाई तत्काल कानुनी कारबाही गर्न नेपाल उद्योग वाणिज्य महासंघले माग गरेको छ।
गत फागुन २ गते काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा भएको प्रदर्शनका क्रममा त्यस क्षेत्रका व्यापारिक मल, सुपर मार्केट तथा अन्य व्यवसायमा भएको तोडफोड एवम् लुटपाटको घटनाप्रति नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण भएको बताएको छ।
लोकतन्त्रमा विरोध प्रदर्शन गर्न पाउने जति अधिकार छ त्यतिनै जनताले आफ्नो जीउ धन र सम्पत्तिको सुरक्षा गर्न पाउने अधिकार पनि भएको महासंघको ठम्याइ छ।
महासंघले भनेको छ 'जनताको सम्पत्तिको खुलेआम तोडफोड, लुटपाट हुनु सोभनिय होइन र त्यो कानुनी राज्यमा दण्डनीय हुनुपर्छ।'
कुनै पनि विरोधका आडमा जवरजस्ती कानुन हातमा लिई हुने यस्ता घटनालाई समयमै नियन्त्रण गर्नेतर्फ राज्यको ध्यान जान सकेन र त्यस्ता तत्वलाई कानुनको दायरामा ल्याई कडाभन्दा कडा कारबाही गर्न सकिएन भने जुनसुकै समयमा अन्यत्र पनि यस्ता घटना नदोहोरिएलान् भन्न नसकिने महासंघले जनाएको छ।
साथै व्यवसायीका लुटिएका सामान अविलम्व फिर्ता गराउन समेत महासंघले माग गरेको छ।