नेपाल विद्युत प्राधिकरण रौताहट मौलापुर वितरण केन्द्रका सहायक इन्जिनियर महेन्द्र चौधरीलाई अपहरण शैलीमा जबरजस्ती गाडीमा राखेर लगि अनधिकृत रूपमा बिजुलीको लाइन जडान गर्न लगाइएको प्रति प्राधिकरणले ध्यानाकर्षण गराएको छ।
गत शुक्रबार त्रिभुवन शाह भनेर चिनिने अमनलाल साह र धीरज पाण्डेसहित करिब ३० जनाको समुहले केन्द्र परिसरमा प्रवेश गरी अपरहण सैलीमा चौधरीलाई लगि प्रचलित विनियमावली विपरित अनधिकृत रुपमा विद्युत लाईन जडान गर्न लगाएको प्राधिकरणले जानकारी गराएको छ।
विद्युत जडान गर्न नमान्दा उनलाई कुटपिट समेत भएको छ। यस घटनामा संलग्न व्यक्तिहरूलाई कारबाहीको माग गर्दै प्राधिकरणको स्थानीय कार्यालय मार्फत जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दर्ता भईसकेको छ।
विद्युत जस्तो अत्यावश्यक सेवामा खटिने इमान्दार राष्ट्रसेवक कर्मचारी माथि भएको दुर्व्यवहार प्रति नेपाल विद्युत प्राधिकरण गहिरो खेद प्रकट गर्दछ र सो घटनाका दोषीहरुलाई हदै सम्मको कारवाही गर्न सम्बन्धीत निकाय समक्ष जोडदार माग गर्दछ,’ प्राधिकरणले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
मौलापुर वितरण केन्द्रका कार्यालय प्रमुख लगायतका कर्मचारीहरु उपर झुठा आरोप लगाइएको समेत प्राधिकरणको दाबी छ।
‘राष्ट्रसेवक कर्मचारीमाथि यस्ता भ्रामक र झुठा आरोप लगाउने मौलापुर नगरपालिकाको कार्यप्रति नेपाल विद्युत प्राधिकरण खेद प्रकट गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।