अष्ट्रेलियाको सिड्नीस्थित पारामाटामा रहेको इन्टरनेशनल इन्स्टिचियुट अफ एजुकेसनमा नेपालको अर्थतन्त्र र पुँजी बजारसम्बन्धी एक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रममा स्रोत व्यक्तिका रूपमा रहेका एनआइबिएल एस क्यापिटलका नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापाले नेपाली अर्थतन्त्र र पुँजी बजारको विविध आयाम बारे सहभागीसँग अन्तर्क्रिया गरेका छन्।
अष्ट्रेलियाको एनआरएनएका राष्ट्रिय कोषाध्यक्ष अनिल पोखरेल (सिपिए) को उपस्थितिमा भएको उक्त कार्यक्रमको संयोजन राजु पोखरेल र दीपेन्द्र पन्तले गरेका थिए।
कार्यक्रममा सिड्नी शहरमा बसोबास गर्ने एनआरएनए र सिए/सिपिए समूहका सहभागीहरूको उत्साहनजक प्रतिनिधित्व रहेको थियो।
उक्त कार्यक्रममा थापाले नेपालको समग्र अर्थतन्त्रको विविध परिदृश्यहरूका साथै नेपालको पुँजी बजारमा भइरहेको पछिल्ला गतिविधिहरू तथा सो सम्बन्धमा भएका प्राविधिक सुधार र अन्य गतिविधिहरूका बारेमा समेत जानकारी गराएका थिए।
नेपालको पुँजी बजारमा रहेका लगानीका विभिन्न उपकरणमार्फत नेपाली पुँजी बजारमा लगानी गर्दा कसरी लगानी गर्न सकिन्छ र त्यसबाट प्राप्त हुने अवसर र चुनौतीका बारेमा समेत सहभागीहरूलाई जानकारी गराए।
उक्त कार्यक्रममा कोषाध्यक्ष अनिल पोखरेलले एनआरएनएले लामो समयदेखि पहल गर्दै आएको अधिकार सहितको नागरिकता र लगानी सहजिकरणका विषयमा तथा राजनीतिक बाहेक अन्य अधिकारको विषयमा भएका पछिल्ला गतिविधिहरूका बारेमा प्रकाश पारेका थिए।
पोखरेलले नेपालको पुँजी बजारमा आवश्यक पर्दा एनआरएनहरूले लगानी बापतको आम्दानीसँगै लगानी रकम समेत फिर्ता लाने संयन्त्रको बारेमा समेत चासो व्यक्त गरे।