इन्फोडेभलपर्स प्रालि र नेपाल क्लियरिङ हाउस (एनसिएचएल)बीच सहकार्यताको सम्झौता भएको छ। इन्फोडेभलपर्ससँग आवद्ध सहकारी संस्थाहरूले आफ्नो बैंक तथा वित्तीय संस्थाहरू मार्फत एनसिएचएलका विभिन्न भुक्तानी प्रणालीहरू प्रयोगगरी भुक्तानी कारोबारलाई डिजिटाइज गर्ने कार्यलाई सहजीकरण गराउने सहकार्यताको सम्झौता भएको हो।
सम्झौता पत्रमा इन्फोडेभलपर्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत उमेश रघुबंशी र एनसिएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।
उक्त सहकार्यको सम्झौता पश्चात इन्फोडेभलपर्सको कोर सिस्टम प्रयोग गरी रहेका विभिन्न सहकारी संस्थाहरूले आफ्ना क, ख र ग वर्गका बैंक वित्तीय संस्थाहरूमा रहेको खातामा सजिलै रकम प्राप्त गर्न सक्नेछन्।
त्यसैगरी खाताबाट नै आफ्नो सेटलमेन्ट बैंकमार्फत बैंक वित्तीय संस्थामा रहेको हितग्राहीको खातामा सजिलै फण्ड ट्रान्सफर तथा अन्य भुक्तानीहरू गर्न सकिने व्यवस्था मिलाइनेछ। उक्त सेवाहरूलाई सहकारी संस्थाहरूले उपलब्ध गराएको मोबाइल बैंकिङ एपमार्फत पनि विस्तार गर्न सकिनेछ।
विद्युत्तिय भुक्तानी कारोबारको दायरा फराकिलो गरी थप ग्राहक समूहमा बैंकिङ पहुँच पुर्याउन एनसिएचएल र इन्फोडेभलपर्सको सहकार्याताले थप टेवा पुर्याउने अपेक्षा संस्थाहरूको छ।
एनसिएचएलका विभिन्न भुक्तानी प्रणालीहरूमा हाल ५५ सदस्य बैंक वित्तीय संस्थाहरू आबद्ध छन् भने अन्य पिएसपी/ पिएसओ, रेमिटेन्स कम्पनीहरू, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध-सरकारी संस्थाहरू लगायतका ८० भन्दा बढी गैर-बैंकिङ संस्थाहरू इन्डाइरेक्ट/प्राविधिक सदस्यका रूपमा आबद्ध छन् ।
इन्फोडेभलपर्स प्रालिले सहकारी संस्थाका साथै विभिन्न सरकारी तथा अर्ध सरकारी, लघुवित्त, सेयर मार्केट लगायतका विभिन्न संस्थाहरूलाई कोर सिस्टम प्रदान गरी डिजिटल माध्यमबाट भुक्तानी कारोबारहरू गर्न मद्दत पुर्याउँदै आएको छ ।