निजी क्षेको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई)ले आगामी कार्यकालका लागि हुने निर्वाचनमा उम्मेदवारको शुल्क बढाएको छ।
अध्यक्ष शेखर गोल्छा अध्यक्षतामा बुधवार बसेको बैठकले आगामी चैत २८ गते हुने निर्वाचनका क्रममा आगामी कार्यसमितिको लागि प्रतिस्पर्धा गर्ने उम्मेदवारको लागि शुल्क बढाएको हो।
महासंघले कार्यसमिति बैठकले गरेको निर्णयअनुसार वरिष्ठ उपाध्यक्षका लागि यस अघिको शुल्कमा दुई लाख रुपैयाँ बढाइएको छ। यसअघि वरिष्ठ उपाध्यक्षको उम्मेदवारको शुल्क तीन लाख रहेकोमा अहिले बढाएर पाँच लाख पुर्याइएको एक कार्यसमिति सदस्यले जानकारी गराए।
त्यस्तै उपाध्यक्षको लागि दोब्बर बढाइएको छ। यसअघि उपाध्यक्षको उम्मेदवार बन्नको लागि एक लाख ५० हजार शुल्क रहेकोमा बढाएर तीन लाख पुर्याउने निर्णय गरेको छ। महासंघमा जिल्ला, वस्तुगत र एशोसियट गरी तीन उपाध्यक्ष रहने व्यवस्था गरिएको छ।
सदस्यको लागि पनि २५ प्रतिशत शुल्क बढाए ७५ हजार पुर्याइएको छ। यसअघि सदस्यको शुल्क ५० हजार थियो।
महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतह अध्यक्ष हुनेछन्। जसअनुसार आगामी कार्यकालको अध्यक्ष स्वतह वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल बन्नेछन् । महासंघको कोषाध्यक्ष भने निर्वाचित कार्यसमितिबाट छनोट गरिने व्यवस्था छ।