रसुवा जिल्लामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली जलविद्युत आयोजनाको बाँधलगायत संरचना (हेडवक्र्स) निर्माणका लागि नदी फर्काउन डाइभर्सन सुरूङ निर्माण सकिएको छ।
यो आयोजना प्रत्यक्ष वैदेशिक लगानीमा निर्माणाधीन छ।
रसुवाको हाकूमा बाँध निर्माणका लागि ४२० मिटर लम्बाइ र पाँच मिटर व्यास भएको पूर्ण कंक्रिट लाइनिङ डाइभर्सन सुरूङ निर्माण सकिएको हो।
निर्माण सकिएपछि मंगलबारबाट सोही सुरूङबाट नदी फर्काई बाँध निर्माण सुरू गरिने आयोजनाको प्रवद्र्धक नेपाल वाटर एण्ड इनर्जी डेभलप्मेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत ताइहकयुनले बताए।
‘आयोजना निर्माणका लागि एउटा कोशेढुंगा पूरा भएको छ, मुख्य तथा प्रवेश सुरूङ, टेलरेसहित सुरूङको जम्मा लम्बाई १३.५ किलोमिटर हो। अहिलेसम्म ४.५ किलोमिटर सकिएको छ। तोकिएकै समयमा सम्पन्न गर्ने गरी निर्माण कार्य भइरहेको छ,’ उनले भने।
आयोजनाको भूमिगत विद्युतगृह खन्ने काम करिब २१ प्रतिशत सकिएको छ। समग्र भौतिक प्रगति १४ प्रतिशत छ।
आयोजनाको मुख्य निर्माण गत २०७८ पुसबाट सुरू गरिएको थियो। निर्माणमा हाल करिब सात सय कामदार परिचालित छन्। त्यसमध्ये करिब तीन सय रसुवाका स्थानीय छन्।
आयोजना निर्माणका लागि इन्जिनियरिङ, खरिद र निर्माण (इपिसीं) मोडलमा कोरियन कम्पनी डुसानले काम गरिरहेको छ। ।
उत्पादित विद्युत् आन्तरिक खपतका लागि प्रत्यक्ष वैदेशिक लगानी(एफडिआई)मा निर्माण हुन लागेको माथिल्लो त्रिशूली-१ हालसम्मकै ठूलो जलविद्युत आयोजना हो।
आयोजनाको प्रवद्र्धक नेपाल वाटर एण्ड इनर्जी डेभलप्पमेन्ट कम्पनीमा कोरियन सरकारको स्वामित्वमा रहेको कोरियान साउथ पावर कम्पनी लिमिटेड (कोएन), विश्व बैक समूहअन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम लगायतको शेयर लगानी छ।
आयोजनाका लागि ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटीबाट जुटाउने गरी वित्तीय व्यवस्थापन गरिएको छ।
कुल अनुमानितलागत ६४ करोड ७३ लाख अमेरिकी डलर (निर्माण अवधिको व्याजसहित) रहेको आयोजनामा ९ अन्तराष्ट्रिय वित्तीय संस्थाहरुले ४५ करोड ३२ लाख अमेरिकी डलर लगानी गर्ने सम्झौता गरेका छन्। बाँकी रकम स्वपुँजी (इक्विटी)बाट जुटाइएको छ।
आयोजनाबाट वार्षिक रुपमा एक अर्ब ५३ करोड ३१ लाख युनिट ऊर्जा उत्पादन हुने छ। आयोजनाबाट कुल वार्षिक ऊर्जा मध्ये ३८.७५ प्रतिशत हिउँदयाममा र ६१.२५ प्रतिशत वर्षायामा उत्पादनहुने छ।
उत्पादित उर्जा नेपालविद्युतप्राधिकरणले निर्माण गरिरहेको त्रिशूली-३ बीहब सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुने छ।
काठमाडौं लोडसेन्टरबाट नजिक रहेको र विद्युतको अध्याधिक माग हुने हिउँदमा समेत १०४ मेगावाट विद्युत् प्राप्तहुने भएकाले मुलुकको विद्युत प्रणालीका लागि आयोजना अत्यन्त्यै आकर्षक मानिएको छ। आयोजनाबाट वर्षभरि नै १०४ मेगावाट स्थिर (फार्म) ऊर्जा प्राप्त हुने छ। आयोजना निर्माण २०८३ को मंसिर भित्र सक्ने लक्ष्य छ।