काभ्रेपलाञ्चोकस्थित ढुङ्खर्क–च्याम्राबेंसी सुरूङमार्गको प्राविधिक अध्ययनको जिम्मा बेथानचोक गाउँपालिकाले काठमाडौँ विश्वविद्यालयलाई दिएको छ।
बुधबार काठमाडौं विश्वविद्यालयको प्रांगणमा भएको एक कार्यक्रममा दुवै निकायबीच तीनबुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
सुरूङमार्गले काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–१ र ४ वडा जोड्नेछ।
सम्झौताअनुसार काठमाडौं विश्वविद्यालयले सुरूङमार्गस्थलको वातावरणीय प्रभाव, भौगर्भिक अवस्था, टनेलको सम्भावित डिजाइन र अनुमानित लगानीसमेतको अध्ययन गरी गाउँपालिकालाई प्रतिवेदन पेस गर्नेछ।
सम्झौतापत्रमा विश्वविद्यालयको तर्फबाट उपकुलपति भोला थापा र गाउँपालिकाको तर्फबाट अध्यक्ष भगवान अधिकारीले हस्ताक्षर गरेका थिए। समझदारीपत्रमा प्रारम्भिक प्राविधिक अध्ययन गर्ने विषय उल्लेख गरिएको छ।
सुरूङको लम्बाइ एक देखि १.५ किलोमिटरसम्म हुने अनुमान गरिएको गाउँपालिकाका अध्यक्ष अधिकारीले बताए। बेथानचोक–४ को सेती भिरमा समय समयम गइरहने सुक्खा पहिरोबाट हुने सडक बन्दको दिगो समाधानका लागि सुरूङमार्ग निर्माण गर्न लागिएको हो।
सो अवसरमा काठमाडौं विश्वविद्यालयका उपकुलपति थापाले समृद्ध मुलुक निर्माणकै लागि विश्वविद्यालय स्थानीय निकायसँग सहकार्य गरी काम गर्न तयार रहेको बथाए। सुरूङमार्ग विश्वविद्यालयका लागि जीवन्त प्रयोगशाला हुने बताउँदै तीव्र गतिमा प्रभावकारी अध्ययन गर्न इञ्जिनियरलाई निर्देशन दिए।
कार्यक्रममा विश्वविद्यालयका रजिस्टार प्राध्यापक डाक्टर अच्युतकुमार वाग्लेले दक्ष जनशक्ति उत्पादन गरी स्थानीयस्तरमा समेत अध्ययन गर्ने गरी काम प्रारम्भ भएको बताए।
कार्यक्रममा विश्वविद्यालयका डिन, सहायक डिन, गाउँपालिकाका प्रमुख, उपप्रमुखलगायतको उपस्थिति थियो।