नेपाल महिला चेम्बरले ११३ औं अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा विभिन्न उद्यमी महिलालाई सम्मान गरेको छ।
काठमाडौंको कमलपोखरीस्थित रुसी संस्कृति केन्द्रमा चेम्बरले महिला उद्यमीहरुलाई सम्मान कार्यक्रम सहित विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा राष्ट्रिय महिला आयोगकी सदस्य कृष्ण कुमारी पौडेल खतिवडाले सामाजिक संरचना विविधतापूर्ण रहेको उल्लेख गर्दै महिला हिंसा बढ्नु दुःखद भएको बताइन्।
नेपाल चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवालले महिलालाई आर्थिक, सामाजिक, बौद्धिक, सांस्कृतिक, आर्थिक सम्पूर्ण रुपमा अगाडि ल्याउनुपर्नेमा जोड दिए।
पुरुषका तुलनामा महिलाहरुलाई कम ज्याला दिने गरिएको भन्दै अग्रवालले विभेदको अन्त्य गर्नुपर्नेे बताए।
सो अवसरमा नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले हरेक बर्ष हुने यस्ता कार्यक्रमले महिलाहरुलाई अघि बढन हौसला मिल्ने बताइन्।
महिलाहरुलाई अगाडि बढाउन महिला स्वयमको भूमिका, सहभागीता एवम प्रतिनिधित्व अर्थपूर्ण हुने श्रेष्ठको भनाइ छ।
नेपाल महिला चेम्बरबाट सम्मानित हुनेमा उद्योगतर्फ शुभद्रा अधिकारी ढकाल, निर्याततर्फ पार्वता खरेल बिमली, आई टितर्फ न्हशला जोशी, कृषितर्फ सरिता भट्टराई श्रेष्ठ र स्वास्थ्य तर्फ स्वरुपा श्रेष्ठ छन्।