अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ममता झालाई चन्द्रलोक प्रतिष्ठानले 'राष्ट्र नारी सम्मान २०७९' प्रदान गरेको छ। उनको उदाहरणीय नेतृत्व, समाज र समुदायप्रति समर्पणको कदर गर्दै उक्त सम्मान गरिएको हो।
ममता जनमत पार्टीको सप्तरी इन्चार्ज र मधेसी नेताको र"पमा पछिल्लो समय परिचित छन्। यसबाहेक उनी आफ्नो समुदाय र त्यसमा पनि विशेष महिला सशक्तिकरणको लागि प्रतिब्धता जनाउने महिला समाजसेवी हुन्।
'राष्ट्र नारी सम्मान' समुदाय र देशका लागि महत्वपूर्ण योगदान पुर्याउने महिलालाई दिइने राष्ट्रिय पुरस्कार हो। झालाई उनको उत्कृष्ट उपलब्धि र नेतृत्वलाई मान्यता दिने विशेषज्ञहरूको प्यानलद्वारा यस सम्मानको लागि चयन गरिएको थियो।
यस्तै उनीसँगै अन्य महिलाहरूलाई पनि समाजमा योगदान पुर्याएकोमा सम्मानित गरिएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रममा विभिन्न संघ-संस्थाका प्रतिनिधि, सरकारी अधिकारी, सामुदायिक अगुवा लगायत विशिष्ट अतिथिहरूको उपस्थिति थियो।
सम्मान ग्रहण गर्दै ममता झाले आफूलाई दिइएको उक्त मान्यताको लागि सदैव कृतज्ञ रहन बताइन्। कार्यक्रममा बोल्दै उनले भनिन्, 'मेरो यो यात्रामा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु। अब मैले आफ्नो समुदायको उन्नतिको लागि अथक परिश्रम गर्नेछु।'
साथै आफूले प्राप्त गरेको पुरस्कार सबै महिलाहरूलाई समर्पित गरेको समेत बताइन्।
'राष्ट्र नारी सम्मान' समाजमा महिलाको महत्वपूर्ण योगदानको सम्झना हो। यसले महिलाहरूको समर्थन र सशक्तिकरण गर्न सबैलाई प्रोत्साहित गर्दै आएको छ।