नेपाल भ्रमणमा रहेकी बेलायतकी फरेन, कमनवेल्थ एण्ड डेभलपमेन्ट मिनिस्टर अफ स्टेट एने म्यारी ट्रेवेलियनले संखुवासभा जिल्लामा निर्माणाधीन ९०० मेगावाटको अरूण-३ जलविद्युत परियोजना भ्रमण गरेकी छन्।
उनले परियोजनाको विद्युत गृह स्थल तथा ट्रान्सफरमर बेको अवलोकन गरिन्। स्वच्छ र नवीकरणीय ऊर्जाको क्षेत्रीय व्यापारबाट कार्बन उत्सर्जन न्यूनीकरणमा नेपालको महत्वपूर्ण भूमिका रहेको चर्चा उनले गरिन्। याे परियोजना भारतीय विकासकर्ता कम्पनी एसजेभिएनको मुख्य स्वामित्वमा रहेको एसजेभिएन अरूण-३ डोभलपमेन्ट कम्पनीमार्फत् विकास भइरहकेो छ।
परियोजना उत्पादन तर्फको हालसम्मको भौतिक प्रगति करिब ६१.२ प्रतिशत छ। विकासकर्ताले परियोजना विद्युत गृहदेखि भारतको सीतामढीसम्म ४०० केभी क्षमताको २७३ किलोमिटर लामो अन्तरदेशीय प्रसारणलाइन निर्माण गरिरहेको छ। यो प्रसारणलाइन सन् २०२३ भित्र सक्ने लक्ष्य लिइएको छ।
मित्रराष्ट्र बेलायत सरकारले यो आयोजनाका लागि प्राविधिक सहयोगलाई निरन्तरता दिने उल्लेख गरेको छ।
परियोजनास्थल भ्रमणका क्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत श्री सुशील भट्टले अरुण-३ जलिवद्युत परियोजना नेपालमा ऊर्जा क्षेत्रको विकासमा महत्वपूर्ण कोशेढुंगा रहेको उल्लेख गरे।
लगानी बोर्डले कोभिड-१९ महामारीको कठिन समयमा पनि परियोजना कार्यान्वयन जारी राख्न आवश्यक सबै सहजीकरण गरेको उनले बताए।
त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवालले नेपालमा निर्माणाधीन र निर्माणका लागि गृहकार्य अघि बढाइएका ठूला जलविद्युत परियोजनाहरूले यस क्षेत्रको विद्युतको माग सम्बोधनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरे। उनले क्षेत्रीय विद्युत व्यापारलाई सार्थक बनाउन दक्षिण एसियाली देशहरूबीच अन्तरदेशीय प्रसारणलाइन निर्माणलाई तीव्रता दिनुपर्ने आवश्यकता औंल्याए।
उच्चस्तरीय भ्रमण टोलीलाई एसजेभीएन अरुण-३ पावर डेभलपमेन्ट कम्पनी प्रालिका प्रमुख कार्यकारी अधिकृत अरुण धिमानले स्वागत गर्नुका साथै परियोजनाको प्रगति सम्बन्धमा संक्षिप्त प्रकाश पारेका थिए।
अरुण-३ जलविद्युत परियोजनास्थल उच्चस्तरीय भ्रमण टोलीमा राज्यमन्त्री ट्रेवेलियनसहित नेपालका लागि बेलायतकी राजदूत निकोला पोलिट, एफसिडिओ डेभलपमेन्ट डाइरेक्टर पिपा बर्ड, लगानी बोर्ड नेपाल तथा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका उच्च अधिकारीहरूको सहभागिता थियो।