राष्ट्रिय किताबखानाले नेपाल सरकारका सचिव र सह-सचिव सरहका कर्मचारीहरूलाई सात दिनभित्र व्यक्तिगत विवरण अद्यावधिक गर्न निर्देशन दिएको छ।
सोमबार एक सूचना जारी गर्दै विज्ञताका आधारमा कर्मचारीको सरुवा-बढुवा तथा पदस्थापन गर्न किताबखानाले कर्मचारीहरूलाई व्यक्तिगत विवरण अद्यावधिक गर्न निर्देशन दिएको हो।
कतिपय कर्मचारी सेवामा प्रवेश गर्दा दर्ता गरिएको शैक्षिक योग्यता मात्रै रहेको तथा सरुवा-बढुवाको विवरण समेत अद्यावधिक नरहेकाले विवरण अद्यावधिक गर्न लागिएको राष्ट्रिय किताबखानाका महानिर्देशक टोकराज पाण्डेले जानकारी दिए।
उनका अनुसार उक्त निर्णय सबै सेवा समूहका कर्मचारीका लागि लागू गरिएको छ। साथै निजामती सेवा नियमावली-२०५० को नियम १० (क) मा भएको व्यवस्था बमोजिम यस्तो निर्णय गरिएको उनले बताए।
‘सचिव र सह-सचिवको पदमा पुगेका कर्मचारी पनि सुरूमा खरिदार वा नायब सुब्बा (नासु) सरहको पदबाट सेवा प्रवेश गरेको भए उनीहरूको व्यक्तिगत विवरणमा एसएलसी वा प्रविणता प्रमाणपत्र तहको मात्र शैक्षिक योग्यता छ,’ उनले भने, ‘यस्तोमा उनीहरूको हालको शैक्षिक योग्यता, तालिम, सरूवा, बढुवा, हालको कार्यालय जस्ता विवरण अद्यावधिक गराउन जानकारी दिएका हौं।’
किताबखानाको वेबसाइटमा रहेको इमेल मार्फत वा स्वयम् कागजात लिई पुल्चोकस्थित कार्यालयमा गई कर्मचारीले विवरण अद्यावधिक गर्न सक्नेछन्।
हाल निजामती सेवामा सचिव सरहका ७० र सह-सचिव सरहका सबै सेवा समूहका झन्डै सात सय ५३ कर्मचारीहरू कार्यरत छन्।
संघीय निजामती सेवा ऐन जारी हुन लागेको र सरकारले विज्ञताका आधारमा कर्मचारी खटाउने भनिरहेको समयमा व्यक्तिगत विवरण अद्यावधिक गर्नुलाई अर्थपूर्ण रूपमा लिइएको महानिर्देशक पाण्डेले बताए।