स्याङ्जा–स्याङ्जाको पुतली बजार नगरपालिका–५ स्थित विम्दी ढाडे हुलाक सामुदायिक होमस्टेमा एक हप्ते घरबास व्यवस्थापन तालिम सञ्चालन गरिएको छ।
तालिममा विभिन्न गाउँका ४० जना प्रशिक्षार्थी सहभागी थिए। तालिमबाट उनीहरू उत्साहित भएका छन्।
तालिमका प्रशिक्षकहरूमा पर्यटन पत्रकार भुमराज तिवारी र नेपालको पहिलो पर्यटन गाउँ सिरुबारीकी अगुवा उर्मिला गुरुङ थिए। प्रशिक्षार्थीलाई एक रात सिरुबारीमा समेत राखेर व्यवहारिक ज्ञान दिलाइएको थियो।
ढाडे हुलाक क्लबका अध्यक्ष समाजसेवी सि.एम.ए मगरले प्रशिक्षार्थी र प्रशिक्षकहरूलाई तालिमस्थल वरपरका गाउँघर डुलाएर आवश्यक जानकारी दिएका थिए।
बिहीबार गण्डकी प्रदेशका सभासद सुधिरकुमार पौडेलको प्रमुख आतिथ्यतामा भएको तालिम समापन कार्यक्रममा प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरियो।
कार्यक्रममा प्रमुख अतिथि पौडेलसहित पुतली बजार नगरपालिकाका मेयर तुलसीराम रेग्मी, होमस्टेका अध्यक्ष मेखबहादुर आले र प्रशिक्षक गुरूङले ग्रामीण पर्यटनको महत्वबारे प्रकाश पारेका थिए।
सहकार्य समाज नेपालको आयोजनामा भएको कार्यक्रमलाई युएनडिपी र नेपाल पर्यटन बोर्डको साझेदारीमा सञ्चालित जिविकोपार्जनका लागि पुनरुत्थान कार्यक्रमले आर्थिक सहयोग गरेको थियो।
तालिमको व्यवस्थापन आयोजक संस्थाकी संयोजक मेनुका शर्मा र लेखा अधिकृत सुवर्ण अधिकारीले गरेका थिए।