तनहुँको बन्दिपुर गाउँपालिका वडा नम्बर ६ मा निर्माण भएको ३३/११ केभीको सराङघाट सबस्टेसन उद्घाटन गरिएको छ।
सोमबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एसियाली विकास बैंक (एडिबी) नेपाल आवासीय नियोगका प्रमुख आर्नो कुश्वाले संयुक्त रूपमा सबस्टेसन उद्घाटन गरेका हुन्।
प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले बनाइरहेको १४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत सराङघाट सबस्टेसन निर्माण गरिएको हो।
उद्घाटन कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले करिब दुई वर्षभित्र सबै नेपालीको घरमा विद्युत पहुँच पुर्याउने गरी काम भइरहेको बताए।
‘सबै नेपालीको घरमा विद्युत पुर्याउने सरकारको लक्ष्य पूरा गर्न विद्युतीकरणको अन्तिम माइलको यात्रामा छौं। यसका लागि अधिकांश ठेक्का सम्झौता सम्पन्न भइसकेका छन्। योसँगै विद्युत पुगेका ठाउँमा आपूर्ति भरपर्दो र गुणस्तरीय बनाउन प्रणाली सुधारमा व्यापक काम गरिरहेका छौं,' घिसिङले भने।
विद्युतीकरणमा एसियाली विकास बैंकको ठूलो सहयोग रहेको उल्लेख गर्दै उनले सबस्टेसन निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए।
नेपालले पछिल्लो एक दशकमा विद्युतीकरणमा उल्लेख्य प्रगति हासिल गरेको उल्लेख गर्दै नेपाल आवासीय नियोग प्रमुख कुश्वाले भने, ‘विश्वको विद्युत पहुँचको वार्षिक वृद्धिदर औसतमा ०.८ प्रतिशत रहेकामा यसको तुलनामा नेपालको धेरै तीव्रदर अर्थात ४.३ प्रतिशत छ। प्राधिकरणको नेतृत्वमा भइरहेको यो कामको हामी प्रशंसा गर्छौं।’
नेपालको पूर्वाधार क्षेत्रमा एडिबीको लगानी निरन्तर रहने उनले बताए।
प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत कार्यान्वयन भएको ‘तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण सञ्जाल सुधार आयोजना’ मार्फत निर्माण गरिएको प्रसारण लाइन शुक्रबार र सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको थियो।
आबुखैरेनी गाउँपालिकास्थिति मार्कीचोक सबस्टेसनदेखि बन्दिपुर गाउँपालिकाको डुम्रेसम्मको ३३ केभी प्रसारण लाइनलाई ट्यापिङ गरिएको छ। प्रसारण लाइनलाई बन्दीपुर गाउँपालिका वडा नम्बर ५ याम्पाफाँटमा ट्यापिङ गरी सराङघाट सबस्टेसनसम्म पुर्याउने १९ किलोमिटर लामो ३३ केभी लाइन पनि बनिसकेको छ। यसमध्ये एक हजार एक सय ३० मिटर प्रसारण लाइन भूमिगत गरिएको छ।
तनहुँ जलविद्युत आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत आयोजना प्रभावित तनहुँ जिल्लामा विद्युतीकरण गर्न र विद्युत आपूर्ति पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन सबस्टेसन र प्रसारण लाइन निर्माण गरिएको हो।
आयोजना अन्तर्गतकै तनहुँको शुक्लागण्डकी नगरपालिका–५ स्थिति खैरेनीटार सबस्टेसनबाट घिरिङसम्म १९ किलोमिटर ३३ केभी प्रसारण लाइन र ३३/११ केभीको घिरिङ सबस्टेसन यसअघि नै बनिसकेर सञ्चालनमा छन्।
सराङघाट सबस्टेसनमा ६/८ एमभिए क्षमताको पावर ट्रान्सफर्मर छ। स्थानीय रूपमा विद्युत आपूर्तिका लागि सबस्टेसनबाट ११ केभीका तीन वटा फिडर लाइन निकालिएको छ। एउटा फिडर जगेडामा राखिएको छ।
सबस्टेसनमार्फत तनहुँको आबुखैरेनी, बन्दिपुर र देवघाट गाउँपालिकामा विद्युत आपूर्ति भइरहेको छ। यसबाट त्यस क्षेत्रका उपभोक्ताहरूले भरपर्दो र गुणस्तरीय विद्युत आपूर्ति पाएका छन्।
आयोजना प्रमुख बोधराज ढकालले तनहुँ जिल्ला सारभूत रूपमा पूर्ण विद्युतीकरण भएको उल्लेख गर्दै दुई महिनाभित्र पुँजीकरणको काम सम्पन्न गरी आयोजना बन्द गरिने बताए।
दुई वटा सबस्टेसन निर्माण तथा तनहुँको विद्युतीकरणका लागि इस्ट इन्डिया उद्योग/वाइवा इन्फ्राटेक जेभीसँग २०७५ मंसिरमा ठेक्का सम्झौता भएको थियो।
करिब ८० लाख अमेरिकी डलर अनुमानित लागत रहेको आयोजना नेपाल सरकार तथा विद्युत प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा कार्यान्वयनमा ल्याइएको हो। आयोजनाबाट २२० किलोमिटर फिडर लाइन र ३५० किलोमिटर वितरण लाइन निर्माण गरिएको छ।