प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समृद्धिको लक्ष्य हासिल गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
गोरखा र लमजुङका लाखौं जनसंख्या लाभान्वित हुने पन्थहिटी–कटहरे–हर्मी–साहिलटार सडक स्तरोन्नति योजनाको मंगलबार शिलान्यास गर्दै उनले सो प्रतिबद्धता व्यक्त गरे।
पालुङटार नगरपालिकाको विमिरेमा बिहान ११:३० बजे भएको शिलान्यासपछिको संक्षिप्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अहिलेको समीकरण ०८४ सालको चुनावसम्मै कायम हुने बताए। एकदुई दिनभित्रै मन्त्रीमण्डल विस्तार गरेर तिव्र गतिमा काम अगाडि बढाउने पनि बताए।
उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले यो योजनालाई विशेष प्राथमिकतामा अगाडि बढाइएको बताए। सामाजिक न्याय सहित गुणात्मक आर्थिक एवं भौतिक विकास सरकारको मुल ध्याउन्न भएको बताए।
सडकले पर्यटन, कृषि, विद्युतीकरण जस्ता विकासका पक्षलाई एकीकृत बनाउन सक्ने उनले बताए।
समारोहलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूसहित सबैको प्राथमिकता र जोडबलमा यो सडक स्तरोन्नति हुन लागेकोमा खुशी व्यक्त गरे।
कांग्रेस नेता एवं प्रदेश सांसद सुरेन्द्र पाण्डेले राजनीतिक गठबन्धनले सामाजिक विकासलाई सर्वोपरि ठान्नुपर्ने बताए।
पालुङटार नगरपालिकाका मेयर दिवस चिन्तनले सडकले आधारभूत तहको उन्नतिमा योगदान दिने बताए।
योजना अन्तर्गत पन्थहिटीदेखि साहिलटारसम्मको झण्डै साढे २० किलोमिटर सडक चौडा गर्ने, नाली र टेवा पर्खाल निर्माण गर्ने तथा डबल लेन कालोपत्रे हुनेछ। भारतीय एक्जिम बैंकसँगको विकास साझेदारीमा निर्माण हुने योजनाको लागत ८० करोड रुपैयाँ छ।
बुड हिल–लामा जेभी, महाराजगन्जले ३० महिनामा सक्नेगरी ठेक्का पाएको यो सडक योजनाबाट गोरखाको पालुङटार नगरपालिका एवं सिरानचोक, छोप्राक र अजिरकोट गाउँपालिका तथा लमजुङको राइनास र दूधपोखरी नगरपालिकाका विभिन्न वडा बासीहरू लाभान्वित हुनेछन्।
योजनाबाट गोर्खा र लमजुङका गरी चार लाख ३० हजारभन्दा बढी जनसंख्या लाभान्वित हुने अनुमान सडक विभाग, सडक सुधार तथा विकास आयोजना निर्देशनालय र योजना कार्यालय गोरखाले गरेका छन्।