युवा उद्यमी सुदीप कोइरालाले १० लाख रुपैयाँ राशिको ‘गोपाल–कमला राजभण्डारी रोटरी अवार्ड फर भोकेसनल एक्सिलेन्स’ पुरस्कार प्राप्त गरेका छन्।
दिदी फाउन्डेसनका सञ्चालक कोइरालाले सामाजिक उद्यमशीलता तथा समाज परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेवापत यो पुरस्कार प्राप्त गरेका हुन्।
३३ वर्षीय कोइरालले कम उमेरमै रोटरी क्षेत्रकै सबैभन्दा ठूलो पुरस्कार प्राप्त गर्न सफल भएका छन्।
रोटरियन गोपाल–कमला राजभण्डारीको नामबाट समाजका विभिन्न क्षेत्रमा योगदान पुराउनेलाई यो पुरस्कार दिइँदै आइएको छ। यसअघि प्रत्येक दुई वर्षमा प्रदान गर्दै आइएको यो पुरस्कार यस वर्षदेखि वार्षिक रूपमा प्रदान गर्ने बताइएको छ।
रोटरी क्लब डिस्ट्रिक्ट ३२९२ को १५औं राष्ट्रिय सम्मेलनका अवसरमा हालै गोपाल–कमलाका नाती आमोद राजभण्डारीले परिवारको अन्य सदस्यको उपस्थितिमा कोइरालालाई उक्त पुरस्कारबाट सम्मानित गरेका हुन्।
यो पुरस्कार गोपाल–कमला राजभण्डारीको स्मृतिमा स्थापना गरिएको हो। समाजसेवीका रूपमा परिचित गोपाल राजभण्डारी नेपालका रोटरी क्लब स्थापनाकालका संस्थापक सदस्य हुन्।
विगतमा यस पुरस्कारबाट धुलिखेल अस्पतालका अध्यक्ष डा. रामकण्ठ मकाजु श्रेष्ठ, काठमाडौं विश्वविद्यालयका पूर्व उपकुलपति डा. सुरेशराज शर्मा, संस्कृतिविद् सत्यमोहन जोशी, प्रिजनर्स नेपालका अध्यक्ष इन्दिरा राना मगर, एफएवान सफ्ट इन्टरनेशनलप्रालिका अध्यक्ष विश्वास ढकाललगायतले पाएका छन्।
समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्नेलाई प्रोत्साहन गर्ने उद्देश्यले युवा उद्यमी कोइरालालाई उक्त पुरस्कार प्रदान गरिएको गोपाल–कमला राजभण्डारीका नाती आमोद राजभण्डारीले बताए।
उनका अनुसार बासुदेव गोल्यानको अध्यक्षतामा ६ सदस्सीय पुरस्कार छनोट समिति गठन गरिएको थियो।
पुरस्कार प्राप्त गरेका कोइरालाले उक्त पुरस्कारको रकम समाजको उन्नतिका लागि लगानी गर्ने बताए।
'हामीले काम गर्दा समाजका पिछडिएको वर्गको पनि आर्थिक उथ्थान हुनु पर्छ,' उनले भने, 'यो पुरस्कारले मलाई थप त्यहि बाटोमा हिड्न प्रोत्साहन गर्नेछ।'