नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा विराटनगरका उद्योगी राजेन्द्र राउत निर्वाचित भएका छन्।
बिहीबार झापाको विर्तामोडमा भएको महासंघको साधारण सभाले राउतलाई सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित गरेको मुख्य निर्वाचन अधिकृत पुनमकुमार गुप्ताले जानकारी दिए।
महासंघको उपाध्यक्षमा जिल्ला तथा नगर उद्योग वाणिज्य महासंघबाट भीम पौडेल र एसोसिएट्सबाट कुमारमणि पोखरेल चयन भएका छन्।
पौडेलले यसअघि अध्यक्षमा दाबी गरे पनि उपाध्यक्ष बस्न तयार भएपछि सर्वसम्मतिको वातावरण बनेको हो। महासंघको कोषाध्यक्षमा सुवास आचार्य चयन भएका छन्।
कार्यसमिति सदस्यहरूमा जिल्ला तथा नगर उद्योग वाणिज्य महासंघका तर्फबाट ध्रुवलाल श्रेष्ठ, वीरेन्द्रकुमार शाह, प्रितम खड्गी, प्रकाश सिवाकोटी, ऋषिराज तिम्सिना चयन भएका छन्।
वस्तुगतबाट राजन श्रेष्ठ र दीपक पाण्डे सदस्यमा निर्विरोध निर्वाचित भए।
यस्तै एसोसिएट्सबाट रविनकुमार दाहाल, भविसकुमार श्रेष्ठ र श्रवणकुमार अग्रवाल निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत गुप्ताले जानकारी दिए। राउत दुई पटक प्रदेश उद्योग वाणिज्य संघको उपाध्यक्ष र केन्द्रीय सदस्य भइसकेका छन्।
उनी समयअघि उदयपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सर्वसम्मत निर्वाचित भएपछि प्रदेश अध्यक्ष बन्ने बाटो खुलेको थियो। प्रदेशको अध्यक्ष बन्न एक कार्यकाल जिल्ला नगर उद्योग वाणिज्य संघको अध्यक्ष भएको हुनुपर्छ।