नेपालको ३५ प्रतिशत परिवारमा साइकल प्रयोग हुने पाइएको छ। राष्ट्रिय जनगणना २०७८ को अन्तिम परिणामअनुसार ३५.२१ प्रतिशत परिवारमा साइकल प्रयोग हुने पाइएको हो। नेपालमा कुल ६६ लाख ६६ हजार ९३७ परिवार संख्या छ।
नतिजाअनुसार २७.३ प्रतिशत परिवारमा दुई पांग्रे (मोटरसाइकल अथवा स्कुटर) प्रयोग भएको देखिन्छ। कार, जिप वा भ्यानमध्ये एउटा हुने परिवार संख्या जम्मा ३.१ प्रतिशत रहेको छ।
सार्वजनिक तथ्यांकअनुसार ३४.२ प्रतिशत परिवारमा रेडियो सुविधा, ४९.४ प्रतिशत परिवारमा टेलिभिजन, ४.५ प्रतिशत परिवारमा ल्यान्ड लाइन टेलिफोन, ७३.२ प्रतिशतमा साधारण स्मार्ट फोन, ७३ प्रतिशत परिवारमा स्मार्ट मोबाइल फोन, ३७.८ प्रतिशतमा इन्टरनेट सुविधा, १५ प्रतिशत परिवारमा कम्प्युटर अथवा ल्यापटपको प्रयोग भएको पाइएको छ।
यसबाहेक २३.७ प्रतिशत परिवारमा रेफ्रिजिरेटर र ४.२ प्रतिशत परिारमा वासिङ मेसिनको प्रयो हुने देखिन्छ। जम्मा ०.८ प्रतिशत अर्थात् ५६ हजार ६०१ परिवारमा भने एयर कन्डिसनरको प्रयोग भएको देखिन्छ।
नेपालको ७२.९४ प्रतिशत परिवारमा स्मार्ट मोबाइल फोन प्रयोग हुन्छ। यसबाहेक ७३.१५ प्रतिशत परिवारमा साधारण मोबाइल फोन रहेको तथ्यांकले देखाउँछ। त्यस्तै नेपालका ३७.७२ प्रतिशत परिवारले इन्टरनेट प्रयोग गरिरहेका छन्।
जनगणनामा देशका हरेक परिवारमा भएका साधन तथा सेवा सुविधाहरूका विवरण संकलन गर्न रेडियो सुविधा, टेलिभिजन, ल्यान्ड लाइन टेलिफोन, मोबाइल फोन (साधारण), स्मार्ट मोबाइल फोन, कम्प्युटर/ल्यापटप, इन्टरनेट सुविधा, कार/जिप/भ्यान, मोटरसाइकल/स्कुटर, साइकल, विद्युतीय पंखा, रेफ्रिजरेटर, वासिङ मेसिन, एयर कन्डिसनर लगायत १४ वटा छनोट विकल्पहरू सहितको प्रश्न सोधिएको थियो।
नेपालको ३.९ प्रतिशत परिवारमा उल्लिखित कुनै पनि साधन/सुविधाहरु उपलब्ध नभएको पाइएको छ भने ९६.१ प्रतिशत परिवारमा कम्तिमा एक किसिमको साधन/सुविधा उपलब्ध भएको पाइएको छ।
नगरपालिका क्षेत्रमा कुनै पनि साधारण सुविधा उपलब्ध नभएको परिवार २.८ प्रतिशत र गाउँपालिका क्षेत्रमा ६ प्रतिशत छ।
शुक्रबार राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको छ।
राष्ट्रिय जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ।