स्मार्ट प्यारेन्टिङ नेपालले ‘कसरी उत्कृष्ट अभिभावक बन्ने?’ भन्ने विषयमा शनिबार भर्चुअल कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा कान्ति बाल अस्पतालका क्लिनिकल साइकोलोजिस्ट राम पुकार शाहले उक्त विषयमा आफ्नो अनुभव र विचारहरू प्रस्तुत गरे।
क्लिनिकल साइकोलोजिस्ट शाहले अभिभावकहरूले भौतिक सुरक्षा र विकास मात्र नभई बालबालिकाहरूको मानसिक, भावनात्मक, बौद्धिक सुरक्षा र विकासका क्षेत्रहरूमा पनि ध्यान दिनुपर्ने विषयमा जोड दिए।
बालबालिकाको बानी, व्यहोरा निर्माण तथा सक्षमताको बारेमा चर्चा गर्दै उनले अभिभावक शैली र अभिभावकसँगको आत्मियताका किसिमबारे पनि जानकारी गराए। उनले कार्यक्रममा उपस्थित अभिभावकहरूको समस्या र जिज्ञासाहरू पनि सम्बोधन गरे।
बालबालिकाहरूको समष्टिगत विकासको निम्ति अभिभावकहरूमा अभिभावकीय सीप र कलाको विकास गरेर यसको महत्वलाई प्रवर्द्धन गर्ने उद्देश्यले स्मार्ट प्यारेन्टिङ नेपालले हरेक महिनाको दोस्रो शनिबार अभिभावकीय ज्ञानवृद्धीसँग सम्बन्धित विभिन्न विषयमा नि:शुल्क भर्चुअल कार्यक्रमहरू सञ्चालन गरिरहेको छ।