बाह्रखरी मिडियाले वार्षिक रूपमा गर्दै आएको बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद आउँदो वैशाख ९ गते काठमाडौंमा हुने भएको छ।
बाह्रखरी मिडियाले आइतबार पत्रकार सम्मेलन गर्दै 'एनसेल बाह्रखरी गल्फ एन्ड इकोनोमिक सिम्पोजियम' को उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने जानकारी दियो।
बाह्रखरीका कार्यकारी अध्यक्ष तथा प्रधानसम्पादक प्रतीक प्रधानले खेल र आर्थिक क्षेत्र जोड्न बाह्रखरीले यस्ता कार्यक्रम आयोजना गरेको बताए।
'आर्थिक परिसंवाद' मा प्रधानमन्त्री, अर्थमन्त्री, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री, गभर्नर, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सका प्रमुख, पदाधिकारीसहित अर्थविद्, बैंकर, उच्च तहका कर्मचारी, व्यवसायी लगायत करिब चार सय जना सहभागी हुने छन्।
कार्यक्रममा एक विज्ञबाट वर्तमान आर्थिक अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम तय भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो। विभिन्न क्षेत्रका विज्ञ तथा प्रमुख व्यक्तित्वको सम्बोधनपछि सरकारका प्रतिनिधिले जवाफ दिनेछन्।
'अर्को चरणको आर्थिक सुधारमा सहयोग पुगोस् भन्ने उद्देश्यले आर्थिक परिसंवाद आयोजना गरिएको हो,' प्रधानसम्पादक प्रधानले भने, 'आर्थिक परिसंवादले सरकारले लिने सुधारको चरणलाई पनि सहयोग पुर्याउनेछ भन्ने हामीलाई लागेको छ।'
पत्रकार सम्मेलनमा कर्पोरेट गल्फ प्रतियोगितामा विजेतालाई दिइने ‘सुनको बल’ सार्वजनिक गरिएको थियो।
गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरेले ‘सुनको बल’ सार्वजनिक गरेका थिए भने बाह्रखरी मिडियाका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्यले त्यसको सहजीकरण गरेका थिए। आचार्यका अनुसार एनसेल बाह्रखरी गल्फ प्रतियोगितामा एक सय दस जनासम्म खेलाडी सहभागी हुनसक्ने छन्।
प्रतियोगितामा काठमाडौं, धरान, विराटनगर, वीरगन्ज, चितवन, पोखरा, बुटवल, नेपालगन्ज, धनगढीसहित केही विदेशी 'कर्पोरेट' गल्फर पनि उपस्थित हुने छन्। प्रतियोगितामा सहभागी गल्फरहरूले गोकर्ण गल्फ क्लबको १८ होलमा 'स्टेबल फोर्ड फर्म्याट' मा प्रतिस्पर्धा गर्ने छन्।
कार्यक्रममा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष देवेन्द्र सुवेदीले बाह्रखरीले आयोजना गर्ने यो कार्यक्रम खेल र आर्थिक क्षेत्रकै अति महत्त्वको भएको बताए।
आर्थिक पत्रकार समाज (सेजन) का अध्यक्ष जनार्दन बरालले बाह्रखरी मिडियाले गर्ने यो कार्यक्रम कर्पोरेट हाउसलाई जोड्ने माध्यम बनेको बताए।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) का अध्यक्ष मोदनाथ ढकालले बाह्रखरीले खेल पर्यटनलाई अगाडि बढाउन सफल भएको भन्दै प्रशंसा गरे।
कार्यक्रममा बाह्रखरी मिडियाका प्रबन्ध सम्पादक राजेश केसीले खेलमा सहयोग पुर्याउने सहयोगी संस्था तथा उपस्थित पाहुनालाई धन्यवाद व्यक्त गरेका थिए।
'एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद' कार्यक्रम सम्पन्न गर्न नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल बैंकर्स एसोसिएसन र नेपाल टुरिजम बोर्डसँग सहकार्य गरिएको छ।
त्यस्तै, ग्लोबल आईएमई बैंक, सिभास रिगल, भाटभटेनी सुपरमार्केट, माछापुच्छ्रे बैंक, शिखर इन्स्योरेन्स, सिटी एक्सप्रेस, बीएमडब्लू, प्रभु बैंक र फलानो लुगा (नेपालमै बन्या) प्रायोजक रहेका छन्।