काठमाडौं उपत्यकामा सात/आठ वर्ष पहिले सुरू भएका विस्तारका सडकमध्ये कुनैको पनि काम सम्पन्न भइसकेको छैन। सबै सडकमा थोरैथोरै मात्रै काम बाँकी रहेको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ।
उपत्यकामा विस्तारका सडकमा कालोपत्र बाँकी भएकामा पनि अरू आधारभूत काम भइसकेको आयोजनाका सूचना अधिकारी महानन्द जोशीले बताए। अहिले अधिकांश सडक सम्पन्न हुने क्रममा रहे पनि थोरैथोरै काम बाँकी छ।
तुलनात्मक रूपमा बढी काम भएको नख्खु–बुंगमति सडकमा भए पनि त्यहाँका सडक यही महिनाभित्र सम्पन्न गर्नुपर्ने उनले बताए।
'सबैतिर एकदुई किमी मात्रै बाँकी छ र त्यसमा पनि बेस र सबबेसको काम भइसकेको छ,' उनले भने।
अधिकांश सडकको २०७१ साल र २०७२ सालमा सडक निर्माणका लागि ठेक्का सम्झौता भएको थियो। सुरूका वर्षमा सडक विस्तार हुन नसकेका कारण निर्माण अघि बढ्न सकेको थिएन। आयोजनाले २० र २२ मिटर चौडा गर्ने गरी ठेक्का गरे पनि स्थानीयबासीको अवरोधका कारण सोअनुसार सडक अघि बढ्न सकेको थिएन।
लामो समय निर्माण अवरूद्ध भएपछि सरकारले सबै सडकमा उपलब्ध चौडाइमै कालोपत्र गर्ने निर्णय गरेको थियो। त्यसपछि पनि कहिले कोभिडका कारणले त कहिले निर्माण सामग्रीको सजिलै उपलब्ध नहुँदा निर्माण चालु हुन नसकेको आयोजनाले जनाएको छ।
विस्तारका अधिकांश सडक समयमै सम्पन्न नहुनुको कारण एउटै रहेको पाइन्छ। पछिल्लो पटक नेपाल विद्युत् प्राधिकरण, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, दूरसञ्चार सेवा प्रदायक संस्था लगायतले संरचना बिच्छ्याउन लागेका कारण तत्काल सम्पन्न गर्न नसकिएको सूचना अधिकारी जोशीले बताए।
उनले भने, 'कालोपत्र गरिसकेर खन्नेभन्दा पहिले उनीहरुलाई काम गरिसक्न दिएर मात्रै काम अघि बढाउन लागिएको हो।'
खानेपानीले पाइप बिच्छाइरहेको, प्राधिकरणले विद्युतको लाइन भूमिगत गरिरहेको र टेलिफोनको अप्टिकल फाइबर भूमिगत काम भइहरेको छ। समन्वयमा नै ती निकायलाई काम गर्न दिइएको सूचना अधिकारी जोशीले बताए।
चाबहिल–जोरपाटी सडक निर्माण कमपनीले एक सातामा सम्पन्न गर्ने भने पनि पहिले खानेपानीको पाइप राख्न दिइएको उनले बताए।
'उहाँहरुले पनि कालोपत्र गर्नासाथ खन्दा गलत सन्देश जान्छ भनेर पाँच/सात दिनमा आफ्नो काम सकाउने र त्यसपछि मात्रै कालोपत्र गर्न भन्नुभएको छ,' उनले भने।
हाल ललितपुरका चार, काठमाडौंका तीन र भक्तपुरको एउटा सडक विस्तार भइरहेको छ। सबै सडकमध्ये अब जम्मा पाँच/छ किमी मात्रै बाँकी रहेको आयोजनाले जनाएको छ।