हिन्दु तथा बौद्धिष्ट धर्मावलम्बीहरुको आस्थाको धरोहर एवम् पर्यटकीय गन्तव्य कागबेनी–मुक्तिनाथ सडक खण्डमा सोमबारदेखि कालोपत्रेको काम सुरु हुने भएको छ।
यो मुस्ताङ जिल्लाकै पहिलो कालोपत्रे सडक हुनेछ। ठेकेदार र प्राविधिकको अनुरोधमा कालोपत्रेका लागि डेढ महिना सडकमा सवारी आवगमनमा रोक लगाइएको छ।
मुस्ताङका प्रजिअ रामचन्द्र तिवारीको रोहवरमा भएको सर्वपक्षीय भेलाले यात्रुको सहजताका लागि वैकल्पिक रुट मिलाउने निर्णय गरेको छ।
धार्मिक तथा पर्यटकीय जिल्ला भएकाले संभावित आन्तरिक तथा बाह्य पर्यटकको सुविधालाई मध्यनजर गर्दै बैकल्पिक रुटको रुपमा कागेबेनी झोङ पुटाक सडकलाई सामान्य स्तरोन्नति गरेर सुचारु गरिने जिल्ला ईन्जिनियर रविन्द्र तिवारीले जानकारी दिए। निर्माण कम्पनीले नै वैकल्पिक रुटको स्तरोन्नती थालेको छ।
निर्माण कन्ट्रक्सनका प्राविधिज्ञ अनिल कुमार चौधरीका अनुसार शुक्रबारदेखि आईतबारसम्म बैकल्पिक सडकको स्तरोन्नती हुनेछ। सो रुट संञ्चालन भएपछि मात्रै कालोपत्रे निर्माणको काम थालिने उनले बताए। ‘हामी अहोरात्र कालोपत्रे निर्माणमा खटिने छौँ, प्राविधिक, निर्माण सामाग्री र पर्याप्त जनशक्ति छ’ चौधरीले भने।
तोकिएको ४५ दिनको अवधिमा १२ देखि १४ घण्टा समय खर्चिएर भएपनि समयमै सडक हस्तान्तरण हुने उनले बताए।
सो सडकका प्राविधिज्ञ अनिल ढुङ्गानाले कालोपत्रेको तयारीका लागि टिपर ५ वटा, भ्याकु लोडर २, ट्रयाक्टर ५, पानी ट्याङ्कर २, ग्रेडर १ र रोलर २ वटा मौजुद रहेको जानकारी दिए।
‘हामीसँग १५० को संख्यामा जनशक्ति छ, अन्य आवश्यक इन्धन पर्याप्त छ’ उनले भने ‘कालोपत्रेका लागि सडकमा सबै तयारी पुरा भएको छ।’
जिल्ला ईन्जिनियर रविन्द्र तिवारीले वर्षातको समय कालोपत्रे मौसम अनुकुल नभएपनि मुस्ताङमा मौसमको तापक्रम र पानी नपर्ने भएकाले कालोपत्रे गर्न असहज नहुने बताए। उनले कालोपत्रेका लागि कंक्रिट र अलकत्रको समिश्रण गर्ने क्रममा कम्तिमा १६ डिग्री तापक्रम आवश्यक पर्ने र कालापत्रे बिच्छ्याईसकेको अवस्थामा १६५ डिग्री तापक्रम जरुरत पर्ने बताए।
तिवारीले असार १२ देखि साउन २७ सम्म कालोपत्रे सक्ने अवधि तोकिएको बताए। उनका अनुसार कागबेनी मूक्तिनाथ कालोपत्रे सडकको साईज ३.७५ मिटर, दुईतर्फी पेटीको साईज ०.७५ मिटर र सडक नालीको साईज १ मिटरको रहने छ।
ग्रामिण पुर्ननिर्माण तथा पुर्नस्थापना डोलिडारको आयोजनामा सडकको निर्माण कार्य २ वर्षअघि सुरु गरिएको हो। उक्त १२ किमी सडक कालोपत्रेका लागि दुई खण्ड गरी करिव २० करोड लगानी हुने अनुमान छ।