दसैँका लागि आजबाट अग्रिम बस टिकट बुकिङ खोल्ने भनिए पनि यातायात व्यवसायीले आफ्ना माग सम्वोधन नभएको भन्दै बुकिङ नै गरेका छैनन्। यसअघि यातायात व्यवसायी, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरीसहितको सर्वपक्षीय छलफलले आजबाट अग्रिम बस टिकट बुकिङ खुलाउने निर्णय गरेको थियो।
व्यवसायीहरुले अग्रिम बस टिकट बुकिङ नगरेपछि सर्वसाधारणमा अन्यौलता बढेको छ। काठमाडौंको गंगबु बसपार्कमा बिहीबार केही सर्वसाधारण भने अन्यौलमा देखिए। अग्रिम बस टिकट बुकिङ खुल्ने भनेर आएका सर्वसाधारण नखुलाइएपछि रित्तै फर्किन बाध्य भए।
यातायात व्यवसायीहरुले यात्रुको सामान राख्नका लागि क्यारियर (हुट) राख्न पाउनुपर्ने माग गर्दै आएकोमा प्रक्रियागत रुपमा सो माग पुरा नभएको र सडकको जिणोद्धार गर्नुपर्नेमा सो काम नभएको भन्दै अग्रिम बस टिकट नखुलाइएको बताएका छन्।
राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले सरकारी पक्षले आफ्ना प्रतिबद्धता पुरा नगरेकाले अग्रिम बस टिकट बुकिङ खोल्न नसकिएको बताए। उनले भने ‘भोलि आउने समस्याले झन् ठूलो समस्या ननिम्तियोस् भन्ने उद्देश्यले अहिले टिकट खोल्न सकेनौँ, सरकारले प्रतिबद्धता कार्यान्वयन गरेमा हामी खोल्न तयार छौँ’ उनले भने।
यात्रुको सुरक्षाको लागि सडकको मर्मत, पहिरो जाने ठाउँमा हेभी इक्युप्मेन्टको व्यवस्था र यात्रुहरुको सामान राख्नको लागि क्यारिङ हाल्न पाउनुपर्ने व्यवस्था तत्काल लागू गर्नुपनृ उनले बताए। तर विभागले केही पनि प्रतिकृया नदिइएको उनको भनाइ छ।
क्यारिङ नराखिकन सर्वसाधारणको सामान लैजान नसकिने बताउँदै उनले सडकको जिर्णोद्धार समेत नगरिएकाले असुरक्षा देखिएको उल्लेख गरे। ‘सुरक्षाको प्रत्याभुति कसले गर्ने ?, पहिरो जाने ठाउँमा हेभी इक्युप्मेन्ट राखिएन र पहिरो गएमा बीच बाटोमै जनतालाई कति घण्टा जाममा राख्ने ?’ सिटौलाले प्रतिप्रश्न गरे।
दसैँमा भारत र अन्य देशहरुबाट समेत लाखौँ नेपाल भित्रिने भएकाले तिनीहरुको सामान सुरक्षित रुपमा लैजाने वातावरण सरकारले नबनाएको उनको आरोप छ। ‘हामी सर्वसाधारणलाई घर पठाउन प्रतिबद्ध छौँ, यसमा दुईमत छैन तर यसको लागि विभागले अनुकुल वातावरण बनाइदिएको छैन’ उनले भने।
दसैँमा राजधानीबाट २५ लाख बढी सर्वसाधारण बाहिरिने गर्दछन्। घटस्थापनादेखि दसैँको अघिल्लो दिनसम्म बाहिरिनको संख्या उल्लेख्य हुने गरेको ट्राफिक प्रहरीको तथ्याङ्क छ।