शुक्रबार बिहानै गंगबुस्थित नयाँ बसपार्कमा १२ गतेको तम्घास जाने बस टिकट काट्नका लागि पुगेका प्रमोद पोखरेलले टिकट पाएनन्। अहिले टिकट सकिएको र पछि बस थप भइसकेपछि आउनु भनेर उनलाई फर्काइयो। १० देखि १३ गतेसम्मका लागि तम्घास जाने बसको टिकट सकिएको काउन्टरका कर्मचारीले बताए।
तम्घासका लागि मात्रै नभई अर्घाखाँची, बागलुङ, प्युठान, म्याग्दी, गोरखा लगायत जिल्लाहरुका लागि पनि १० देखि १३ गतेसम्मका सबै बसहरुको टिकट सकिएको उनले जानकारी दिए। राष्ट्रिय यातायात व्यवसायी महासंघले पनि पछि बसहरु थप हुने जनाएको छ।
महासंघका महासचिव सरोज सिटौलाका अनुसार विभिन्न संघहरुमार्फत खाली भएका सवारीसाधनलाई राजधानीमा ल्याउन निर्देशन दिइएको छ। ‘हामीले जिल्लास्थित संघहरुलाई पनि खाली रहेका बसहरुलाई काठमाडौंमा ल्याउन भनेका छौँ, बसहरु थपिन्छन् आत्तिनु पर्दैन’ उनले भने।
संघहरुले धेरै बसहरु राजधानी पठाउने तयारी गरेकाले सर्वसाधारणले घर जान पाउने उनले दावी गरे। धेरै ग्रामीण क्षेत्रको बाटो बिग्रेकाले समयमै सवारीसाधन गन्तव्यमा पुग्न र फर्किन समस्या भएको उनले बताए।
‘कतिपय जिल्लाहरुमा सदरमुकाममै सर्वसाधारणलाई छोडेर फर्किनुपर्ने स्थिति छ, ग्रामीण क्षेत्रमा त जान सक्ने स्थिति नै छैन’ उनले भने ‘सरकारले सर्वसाधारणलाई गन्तव्यमा पुर्याउन बाटोको सुधार गर्नु पर्दैन?’
यो पटक नयाँ बसहरु भने नथपिइने उनले स्पष्ट पारे। बाटोका कारण भनेकै समयमा बसहरु राजधानी फर्किन नसकेको व्यवसायीको भनाइ छ। समयमै राजधानीमा सवारीसाधन फर्किन नसक्दा पनि टिकट अभावजस्तो देखिएको उनीहरु बताउँछन्। घटस्थापनादेखि दैनिक डेढ लाखदेखि २ लाख यात्रुहरु राजधानीबाट बाहिरिने गरेका छन्।
साझा बस बागलुङ मात्रैगत वर्षको दसैँमा काठमाडौंदेखि वीरगन्ज, लुम्बिनी, गोरखा, बागलुङ लगायत क्षेत्रमा पुगेका साझा बस यस पटक भने बागलुङमा मात्रै सीमित हुने भएका छन्।
साझा यातायातका कामु कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले बागलुङ जाने बसहरु अरु बेला पनि संचालनमा आइरहेकाले त्यस क्षेत्रलाई निरन्तरता दिइने बताए। यद्यपी अन्य क्षेत्रमा भने यस पटक साझा बसहरु संचालनमा नआउने उनले स्पष्ट पारे।
‘यी सिटी बस हुन्, शहरी क्षेत्रमा संचालन गर्ने प्रयोजनका लागि ल्याइएका हुन्, त्यसकारण शहरी क्षेत्रमै यी बसहरुले सेवा दिन्छन्’ उनले भने।
गत वर्ष नाकाबन्दीका कारण इन्धनको समस्या भएपछि साझाले ति क्षेत्रमा बसहरु संचालन गरेको थियो।
यो पटक भने वातावरण सहज भएपछि साझाले बसहरुलाई बागलुङबाहेकका जिल्लाहरुमा नलैजाने भएको हो। बागलुङ जाने बसमा निशुल्क वाईफाई सेवा समेत संचालनमा रहेको छ।
हाल दैनिक एउटा बस काठमाडौंदेखि बागलुङका लागि र अर्को बागलुङदेखि काठमाडौं आउने गरेका छन्। गत वर्षदेखि नै दुई बसहरु यो रुटमा संचालनमा रहँदै आएका छन्।
यो पनि हेर्नुहोस्
दसैँमा राजधानीबाट घर जाँदै हुनुहुन्छ ? यस्तो छ बसको भाडादर