हवाई क्षेत्रको नियमक निकाय नेपाल नागरिक उड्डय प्राधिकरण(क्यान)का महानिर्देशकलाई सरकारले नयाँ जिम्मेवारी दिएको छ। सोमबार बसेकाे पर्यटन मन्त्रालयको बैठकले महानिर्देशक संजिव गौतमलाई नयाँ जिम्मेवारी तोक्ने निर्णय गरेको हो।
गौतमलाई मन्त्रालयमा हाजिर भएर तोकिएको जिम्मेवारी निर्वाह गर्ने निर्देशनसहितको पत्र क्यानमा पठाउने मन्त्रीस्तरीय निर्णय भएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तथा प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिए।
कर्यसम्पादन सम्झौता अनुरुपम काम नगरेको भन्दै गौतमलाई मन्त्रालयले केही समय अगाडि स्पष्टीकरण सोधेको थियो। गौतमले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै मन्त्री जितेन्द्रनारायण देवले गौतमलाई मन्त्रालयमा ल्याएर नयाँ जिम्मेवारी दिने निष्कर्षमा पुगेका उनको सचिवालयले जानकारी दिएको छ।
सोमबारमो मन्त्रीस्तरीय निर्णयबाट गौतमलाई प्राधिकरणको जिम्मेवारीबाट हटाएर मन्त्रालयले गठन गरेको कर्यदलको नेतृत्व गर्न निर्देशन दिइएको छ। हवाई नीति २०६३ पुनरावलोकन, निजगढ विमानस्थलको कोरियन कम्पनी एलएमडब्लुले तयार पारेको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन प्राप्त गर्न आवस्यक भुक्तानीको लागि सिफारिस गर्न र राष्ट्रिय गौरवका आयोजनाको कार्यप्रगतिको लागि कार्ययोजना बनाउने जिम्मेवारीसहित कार्यदलको जिम्मेवारी दिने निर्णय भएको प्रवक्ता उपाध्यायले जानकारी दिए।